आलम आतंक : आदेश दिने न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडे « Nagarik Khabar

आलम आतंक : आदेश दिने न्यायाधीश र सरकारी वकिलले जिल्ला छाडे



काठमाडौं । आँफैले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएका युवाहरूलाई जिउँदै इँटाभट्टामा हाल्ने मोहम्मद अफ्ताब आलमको आतंक कुन हदसम्म छ ? १२ वर्षपछि उनलाई जेल पठाउने न्यायाधीशको मनस्थितिले पनि यो बयान गर्छ ।

पुर्पक्षका लागि आलमलाई जेल पठाउने न्यायाधीश दीपक ढकालले रौतहटबाट आफूलाई तत्काल सरुवा गर्न न्यायपरिषद्लाई आग्रह गरेका छन्  ।

आदेश दिएलगत्तै शुक्रबार साँझ नै उनले जिल्ला छाडेका छन् । आलमविरुद्ध बहस गर्ने जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) फणीन्द्रराज कटवाल पनि सरुवाको माग गर्दै शुक्रबार नै रौतहटबाट हिँडेका छन् । आजको नायाँ पत्रिका दैनिकमा अशोक पहाडी र नवराज मैनालीले लेखेका छन् ।

अदालतमा बहस चल्दै गर्दा जाहेरवाला र साक्षीलाई धम्की दिने, बन्धक बनाउने र बयान फेर्न लगाउने आलमले न्यायाधिवक्ता र न्यायाधीशलाई समेत विभिन्न माध्यमबाट त्रासमा पारेका थिए ।

अदालत स्रोतका अनुसार असुरक्षित महसुस गरेर नै उनीहरूले जिल्ला छाडेका हुन् । ‘उहाँहरू अहिले बिदामा काठमाडौं जानुभएको छ,’ अदालतका एक अधिकारीले भने, ‘आदेश दिएपछि यहाँ बस्ने परिवेश छैन ।’

आफ्नै चुनाव प्रचारमा जुटेका र आलमका लागि बनिरहेको बम विस्फोट हुँदा घाइते भएकालाई इँटाभट्टामा जलाउने व्यक्तिले जे पनि गर्न सक्ने भन्दै उनीहरूले सरुवा मागेको महान्यायाधिवक्ता कार्यालयका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: