नेपाली भूमिमा भारतीय हस्तक्षेप : प्याराताल कब्जा गर्न सीमास्तम्भ गायब « Nagarik Khabar

नेपाली भूमिमा भारतीय हस्तक्षेप : प्याराताल कब्जा गर्न सीमास्तम्भ गायब



काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बीचफाँटामा १९५ नम्बरको सीमास्तम्भ ढलेको छ भने १९६ नम्बरको सीमास्तम्भ वर्षौंदेखि भारतीय पक्षले गायब पारेका छन् ।

दुधुवा नेसनल पार्कनजिकै रहेको नेपाली भूमिमा पर्ने प्याराताल कब्जामा लिने नियतले भारतीयले सो क्षेत्रमा रहेका सीमास्तम्भमा खेलबाड गरेको स्थानीय बताउँछन् ।

दुई लाख ५० हजार वर्ग मिटर क्षेत्रफल रहेको प्याराताललगायत वरपरको करिब दुई सय बिघा जमिन अतिक्रमण गर्न ‘भारतीयहरूले १९५ नम्बर पिलर ढालेको र १९६ नम्बर पिलर गायब पारेको’ वडाध्यक्ष नारायणप्रसाद जैसीले बताए ।

‘पिलर भत्काएर जैविक विविधताले भरिएको प्याराताल भारतले कब्जा गर्न खोजिरहेको छ,’ उनले भने, ‘प्याराताललाई लिएर हरेक वर्ष भारतीय पक्षले नेपाली बस्तीमा आएर दुःख दिने गरेको छ ।’

प्यारातालमा माछा मार्न पहिले जिल्ला विकास समिति कञ्चनपुरले ठेक्कामा दिँदै आए पनि पछिल्लो समय भारतीय सीमा सुरक्षाकर्मीले सो क्षेत्र ‘भारतीय भूमि’ रहेको दाबीसहित ठेक्का लगाउन रोक लगाउँदै आएका छन् ।

प्यारातालभन्दा करिब पाँच सय मिटर दक्षिणतर्फ १९५ र १९६ नम्बरको सीमास्तम्भ रहेको बताउँदै जैसीले भने, ‘सीमादेखि वरै नेपालतर्फ रहेको प्याराताल कसरी भारतले आफूहरूको भनिरहेको छ ? हामी आश्चर्यमा परेका छौं ।’

आजको नागरिक दैनिकमा दिलबहादुर छत्याल र पुष्पराज जोशीले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: