अन्ततः आलम जेलमा, सम्पत्ति सुद्धिकरणमा पनि मुद्दा « Nagarik Khabar

अन्ततः आलम जेलमा, सम्पत्ति सुद्धिकरणमा पनि मुद्दा



काठमाडौं । निलम्बित सांसद एवं पूर्वमन्त्री मोहम्मद अफताव आलम शुक्रबार जेल चलान भएका छन् ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा उनलाई रौतहट जिल्ला अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।

आठ दिन लामो थुनछेक बहसपछि न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई थुनामा पठाएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा गौरबाट फणि महतले लेखेका छन् ।

आलमलाई गौर कारागार चलान गरिएको अदालतका स्रेस्तेदार गुणराज पराजुलीले बताए । मुद्दामा वादीका तर्फबाट १२ र प्रतिवादी आलमका तर्फबाट २८ कानुन व्यवसायीले बहस गरेका थिए ।

१२ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटनसम्बन्धी मुद्दामा उनलाई प्रहरीले गत असोज २६ गते पक्राउ गरेको थियो ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते साँझ आलमको घरछेउमै उनका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो ।

आलमकै निर्देशनमा बनाउन लागिएको बम विस्फोट हुँदा त्यसको छर्रा लागेर घाइते भएकालाई इँटाभट्टामा हालेर मारेको अभियोग उनीमाथि छ ।

आलमलाई ३२ वर्ष कैद सजाय माग दाबीसहित कात्तिक १९ गते जिल्ला अदालत गौरमा तीनवटा मुद्दा दर्ता भएको थियो । कर्तव्य ज्यान मुद्दामा २० वर्ष, ज्यान मार्ने उद्योगमा १० र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय मागदाबी गरिएको थियो ।

यमुनामाई गाउँपालिका ४ का त्रिलोकप्रताप सिंह मारिएको भन्दै बाबु श्रीनारायण सिंह र ओसी अख्तर मारिएको भन्दै आमा रोक्साना खातुनले आलमविरुद्ध कर्तव्य ज्यान मुद्दा दिएका थिए ।

यस्तै सर्लाही गडैता–२ का सफी अहमद र भारत सीतामणिका गौरीशंकर राम चमारले बम विस्फोटमा घाइते भएको भन्दै ज्यान मार्ने उद्योगमा उनीविरुद्ध जाहेरी दिएका थिए । आलमविरुद्ध प्रहरीले विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाएको छ ।

जिल्ला अदालतले आलमलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ८० अनुसार कारागार पठाउन आदेश दिएको हो । अदालतले जाहेरवाला, पीडित र साक्षीको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटलाई आदेश दिएको छ ।

सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा

हत्या आरोपमा पक्राउ परेका निलम्बित सांसद आलममाथि सम्पत्ति शुद्धीकरण विभागले समेत छानबिन गर्ने भएको छ । विभागले आलमलाई उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्राचार गरेको छ ।

यसैबीच रौतहटको गौरमा शुक्रबार सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आलम पक्राउदेखि नै गौरमा सुरक्षा सजगता अपनाउँदै आएको स्थानीय प्रशासनले शुक्रबार ठूmलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: