चर्काे राजनीतिक दबाब पन्छाउँदै अख्तियारले लियो गच्छदारसँग ४ घण्टा बयान « Nagarik Khabar

चर्काे राजनीतिक दबाब पन्छाउँदै अख्तियारले लियो गच्छदारसँग ४ घण्टा बयान



काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक योजना तथा पूर्वाधारमन्त्री विजयकुमार गच्छदारसँग लामो बयान लिएको छ ।

अख्तियार स्रोतलाई उद्धृत गर्दै आजको राजधानी दैनिकले अख्तियारका अनुसन्धान अधिकृतहरूले गत २२ कात्तिक (शुक्रबार) साँझ गच्छदारसँग चार घण्टा लामो बयान लिएको समाचार प्रकाशित गरेको छ ।

राजधानी दैनिक अगाडि लेख्छ, अख्तियारले साँझ ५ बजेदेखि ९ बजेसम्म गच्छदारसँग लामो बयान लिएको हो ।

बयानका क्रममा गच्छदारले मन्त्रिपरिषद्को नीतिगत निर्णय भएकाले यस प्रकरणमा आफ्नो कुनै भूमिका नभएको भन्दै बचाउको प्रयास गरेका थिए ।

‘प्रशासनिक तहबाट निर्णय भएर आएकाले मैले निर्णयमा हस्ताक्षर गरेर मन्त्रिपरिषदमा पठाएको हुँ । यसमा मेरो कुनै दोष छैन,’ गच्छदारको भनाइ उद्धृत गर्दै अख्तियार स्रोतले भन्यो ।

प्रमुख विपक्षी कांग्रेसका उपसभापतिसमेत रहेका गच्छदारलाई बयान नलिन अख्तियारमाथि नै उच्च दबाब पर्दै आएको थियो । तर, दबाबका बाबजुद अख्तियारले गच्छदारसँग बयान लिएको हो ।

अख्तियारले प्रधानमन्त्री निवास बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा सय जना बढी व्यक्तिसँग बयान लिइसकेको छ । यस प्रकरणमा बयान दिन १ सय ५२ जनालाई आयोगले पत्राचार गरेको थियो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले ललिता निवास जग्गा हिनामिना प्रकरणका आरोपितमाथि धमाधम बयान लिने काम भइरहेको जानकारी दिए ।

प्रवक्ता कोइरालाले बयान लिने काम अनुसन्धान अधिकृतले गर्ने भएकाले को कोसँग बयान लिइयो भन्ने बारेमा आफूलाई कुनै जानकारी नहुने बताए ।

‘उहाँ (गच्छदार)सँग बयान लिएको बारेमा पनि मलाई जानकारी छैन । मुद्दा दायरको निर्णय भएपछि मात्रै मकहाँ आउने हो त्यसैले यस सम्बन्धमा मलाई कुनै जानकारी छैन,’ प्रवक्ता कोइरालाले भने ।

यस प्रकरणमा अख्तियारले आफ्नै पूर्वप्रमुख आयुक्त तथा तत्कालीन भौतिक सचिव दीप बस्न्यातसँग समेत बयान लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: