अन्तःशुल्क स्टिकरको भण्डार रित्तै : आयातित मदिरामा अब के टास्ने ? « Nagarik Khabar

अन्तःशुल्क स्टिकरको भण्डार रित्तै : आयातित मदिरामा अब के टास्ने ?



काठमाडौं । आयातित मदिरामा टाँसिने अन्तःशुल्क स्टिकरको भण्डार रित्तिएको छ । तीन वर्ष अघि खरिद गरिएका स्टिकरमध्ये आयातित मदिरामा प्रयोग हुनेको स्टक (भण्डारण) रित्तिएको हो ।

सरकारले सन् २०१६ मा अन्तर्राष्ट्रिय बोलपत्रमार्फत चार अर्ब ९७ करोड २६ लाख थान टिकट खरिद गर्ने सम्झौता गरेको थियो । त्यसपछि १५ प्रतिशत बढाएर करिब साढे ५ अर्ब थान स्टिकर खरिद गरिएको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा पवन तिमिल्सिनाले यो समाचार लेखेका छन् ।

आयातित मदिराका लागि स्टिकर अपुग भएपछि आन्तरिक राजस्व विभागले स्वदेशी मदिरामा प्रयोग हुने स्टिकरलाई वैकल्पिक रूपमा प्रयोग गरिरहेको छ ।

२०७४/७५ र ०७५/७६ का लागि खरिद गरिएका अन्तः शुल्क स्टिकरले करिब एक वर्षको माग मात्र धान्नेछ । सार्वजनिक लेखा समितिले अहिले अन्तःशुल्क स्टिकर खरिद गर्न रोक लगाएको छ ।

समितिकै निर्देशनका कारण स्टिकर छपाइका लागि बोलपत्र आह्वान गर्न ढिलाई भइरहेको थियो । गत असोजमा विभागमा विनोदबहादुर कुँवरको नेतृत्वले स्टिकर खरिदका लागि टेन्डर प्रक्रिया सुरु गरे ।

यद्यपि, समितिले हस्तक्षेप गर्दै टेन्डर प्रक्रिया रोक्न निर्देशन गर्याे । यस विषयमा शीघ्र टुंगो नलागेमा राज्यले राजस्वमा ठूलो दुर्घटना आउन सक्ने सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

हालसम्म चार पटकसम्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा अन्तः शुल्क स्टिकर खरिद गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

सकिएपछि वैकल्पिक उपाय
स्टिकर सकिएपछि भन्सार कार्यालयले आयातित मदिरामा स्वदेशी उत्पादनका १५ यूपीसम्मका मदिरामा प्रयोग हुने अन्तःशुल्क स्टिकर प्रयोग गरिरहेको छ ।

स्वदेशमा १५ यूपीका मदिरा उत्पादन नहुने भएकाले त्यस्ता स्टिकरको वैकल्पिक प्रयोग गरिएको आन्तरिक राजस्व विभागका एक अधिकारीले जानकारी दिए ।

उनले भने, ‘समितिका निर्देशनले टेन्डर प्रक्रियामा अवरोध सिर्जना भइरहेको छ । अहिलेदेखि आयातित रक्सीमा असान्दर्भिक स्टिकर लगाएर काम चलाउनुपर्ने अवस्था छ । भोलि सबै स्टिकरको स्टक समाप्त भएपछि के गर्ने भन्नेमै विभाग अन्योलमा छ ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: