कफुचे हिमतालको प्रवर्द्धन गर्दै मादी गाउँपालिका « Nagarik Khabar

कफुचे हिमतालको प्रवर्द्धन गर्दै मादी गाउँपालिका



  • कृष्ण दवाडी

पोखरा । कास्कीको मादी गाउँपालिकाले कफुचे हिमतालको प्रवर्द्धन सुरु गरेको छ । कफुचे हिमाल मादी गाउँपालिकाभित्र पर्दछ ।

समुन्द्री सतहबाट दुई हजार ४५० मिटर उचाइमा मादी–१ मा अवस्थित कफुचेलाई विश्वकै सबैभन्दा कम उचाइमा रहेको हिमताल भएको दाबी गर्दै गाउँपालिकाले त्यसको प्रवर्द्धन सुरु गरिएको जनाएको छ । हिमतालको प्रवर्द्धन गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यअनुसार गाउँपालिकाले योजना अघि सारेको हो ।

अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट आउने हिमपहिरो पग्लिएर ताल बनेको बताइन्छ । एक हजार २०० वर्गमिटरमा फैलिएको तालको नीलो कञ्चन पानीको मनमोहकताका कारण पछिल्लो समय त्यहाँ आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ ।

स्थानीय गुरुङ भाषामा ‘क’ भनेको हिउँको थुप्रो, ‘फु’ पग्लनु र ‘चे’समथर ताल भएकाले हिउँ पग्लेर बनेको ताललाई ‘कफुचे’ भन्ने गरिएको छ । डेढ दशकअघि सम्म हिउँको थुप्रो रहेको सो स्थानबाट नै आवतजावत गर्न सकिने भए पनि जलवायु परिर्वतका कारणले हिउँ पग्लेर ताल बनेको स्थानीय बताउँछन् ।

स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्य बन्न सक्ने हिमतालसम्म पुग्नका लागि बाटो लगायतका पूर्वाधार निर्माण गरिने गउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम)ले बताए । ‘हामीले पर्यटनलाई गाउँपालिकाको समृद्धिको प्रमुख आधार मानेका छौं,’ अध्यक्ष गुरुङले भने, ‘सोही अनुसार विश्वकै कम उचाइमा अवस्थित हिमतालको प्रचारप्रसारमार्फत आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाउँछौं ।’

गाउँपालिकाले यसै वर्ष सिक्लेसदेखि हिमतालसम्मको बाटो मर्मतका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने भएको छ । पर्यटकहरु सहज रुपमा गन्तव्यसम्म पुग्नका लागि पहिलो सडक पूर्वाधार अपरिहार्य रहेकाले तालसम्म नै सहज पैदलमार्ग निर्माण गर्ने योजना गाउँपालिकाको छ । पोखराबाट ५१ किमी दूरीमा अवस्थित कफुचे हिमताल पर्यटकीय गाउँ सिक्लेसबाट पाँच घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: