संस्कृत भाषा साहित्य ज्ञानको खानी हो : माधव नेपाल « Nagarik Khabar

संस्कृत भाषा साहित्य ज्ञानको खानी हो : माधव नेपाल



महोत्तरी । पूर्वप्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पाटीं (नेकपा)का सचिवालय सदस्य माधवकुमार नेपालले संस्कृत भाषा र साहित्य समृद्ध रहेको बताएका छन् ।

महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत मावि र याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) मा अध्ययन गरेका भूतपूर्व संस्कृत विद्यार्थी समाजको प्रथम सम्मेलनमा नेता नेपालले यस्तो बताएका हुन् । सम्मेलन सफलताको कामना गर्दै नेता नेपालले संस्कृत भाषा वैज्ञानिक हुनाका साथै ज्ञानको खानी भएको उल्लेख गरे ।

शनिबार विहान राजकीय संस्कृत विद्यालय परिसर पुगेका उनलाई विद्यार्थीले वैदिक मन्त्रोच्चारणसहित स्वस्तिवाचन गरेका थिए । संस्कृत मावि र विद्यापिठका पूर्वविद्यार्थीहरुले भने उनीसँग संस्कृत शिक्षा उपेक्षित हुँदै गएको गुनासो गरेका थिए ।

सम्मेलनमा सहभागी हुन आएका समाजमा आबद्ध हाल पूर्वाञ्चल विश्वविद्यालयका डिन डा शम्भु कोइरालाले मटिहानीको मुख्य आकर्षण संस्कृत शिक्षा भएको उल्लेख गर्दै यसको संवद्र्धनका लागि नेपालको ध्यानाकर्षण गराएका छन् ।

सम्मेलनका सहभागीसँग वरिष्ठ नेता नेपालले संस्कृतको संरक्षण र संवद्र्धनमा सबै तहका सरकार र प्रबुद्ध वर्गको निरन्तर सहयोग रहनुपर्नेमा जोड दिए । आफ्नो तहबाट यसका लागि उच्चतम प्रयत्न गरिने नेपालले प्रतिबद्धता जनाए । समाजको प्रथम सम्मेलनमा सहभागी हुन ५० वर्षअघि सम्मका ३०० पूर्वविद्यार्थी अहिले मटिहानी पुगेका छन् ।

शुक्रबार सुरु भएको सम्मेलनको उद्घाटन गर्दै प्रदेश—२ का प्रमुख तिलक परियारले सबै संस्कृति परम्परा र भाषाले संवद्र्धनको अवसर पाउनुपर्ने उल्लेख गरे । समारोहमा प्रदेश–२ सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले मटिहानी धार्मिक र पुरातात्विक महत्वको ठाउँ भएको उल्लेख गर्दै यसको विकासमा प्रदेश सरकारले पहलकदमी लिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: