१३ वर्षपछि दोस्रो गलकोट घुम्टे महोत्सव हुँदै, तयारी तीव्र « Nagarik Khabar

१३ वर्षपछि दोस्रो गलकोट घुम्टे महोत्सव हुँदै, तयारी तीव्र



थम्मन थापा

बागलुङ । झण्डै १३ वर्षपछि गलकोटमा दोस्रो गलकोट घुम्टे महोत्सव सञ्चालन हुँदै छ । मंसिर ४ गते देखि ११ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी तीव्र रुपमा भइरहेको छ ।

गलकोट घुम्टे विकास केन्द्र बागलुङको आयोजनमा हुन गईरहेको महोत्सव सफल बनाउन अहिले विभिन्न ठाउँमा समूह बनाएर प्रचार प्रसार तथा आर्थिक संकलनको कार्य अघि बढाइएको छ ।

अन्तरकृया तथा भेटघाट

केन्द्रले गलकोटसँगै देश तथा विदेशमा रहेका गलकोटे तथा बागलुङ जिल्लाबासीसँग अन्तरकृया तथा भेटघाट समेत गरिरहेको छ ।

२०६३ सालमा गलकोटमा प्रथम गलकोट घुम्टे महोत्सव आयोजना गरिएको थियो । दोस्रो गलकोट घुम्टे महोत्सव नजिकिँदै गर्दा व्यवस्थापनको तयारी, स्थानीय कला र संस्कृतिको प्रदर्शन लगायतका विषयमा अहिले गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका सबै वडामा गृहकार्य चलिरहेको छ ।

कला र संस्कृति

महोत्सवमा स्थानीय लोपोन्मुख कला र संस्कृतिलाई प्रदर्शनीमा मुख्य प्राथमिकताका साथ राखिने गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापाले जानकारी दिए ।

गलकोटमा रहेका स्थानीय कला संस्कृति सोरठी, सालैजो, ठाडो भाका, यानीमाया सुनिमाया, नानीलै, घुम्टे साइलो लगायतका भाकाहरुसँगै स्थानीय कला संस्कृति झल्कने झाँकी र जात्रा समेत प्रर्दशन गरिने गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिए । महोत्सवमा गलकोट लगायत आसपासका पालिकामा रहेका कला संस्कृतिको समेत पर्दशन गरिने केन्द्रका अध्यक्ष बस्नेतले जानकारी दिए ।

महोत्सवमा गलकोट क्षेत्रको संस्कृतिका रूपमा रहेको भुस पोल्ने मेला, सिस्नो खोस्ने मेला, घाटु नाच, साराङ नाच, सोरठी तथा मारुनी नाच, लाखे नाच तथा भजन किर्तनलाई पनि विशेष प्रस्तुतीका साथमा राखिने गलकोट घुम्टे पर्यटन केन्द्रका सचिव सेर बहादुर थापाले जानकारी दिए ।

गलकोट क्षेत्र कला संस्कृतिले भरिपुर्ण ठाउँ हो । समयक्रमसँगै (विभिन्न कारणले गर्दा) गलकोटमा रहेका कला संस्कृति पछिल्लो समय लोप हुँदै गईरहेका छन् ।

कला संस्कृतिको जगेर्ना

गलकोटमा विभिन्न जातजातिको बसोबास रहेको छ । सबै जातजातिका पनि आफ्नै कला संस्कृति रहेका छन् । ती कला संस्कृति समेत अहिले नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्नु, नयाँ पुस्ताले सिक्नमा तदारुकता नदेखाउनु र कला संस्कृतिलाई संरक्षण गर्न सरोकारवाला पक्षको ध्यान नजानुले पनि विभिन्न संस्कार, संस्कृति अहिले लोप हुने अवस्थामा रहेका छन् ।

अहिले संविधानले पनि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्व बोकेका परम्परागत संस्कार संस्कृतिलाई संरक्षण गर्नको लागि लीपीवद्व गरिसकेको बेला परम्परागत कला संस्कृतिलाई जगेर्ना गर्नुपर्ने र लोपोन्मुख कला संस्कृतिलाई जीवन्त राख्नुपर्ने सरोकारवालाको भनाई छ ।

महोत्सवले गलकोट क्षेत्रको पर्यटन, कृषि, कला, संस्कृति, खेलकुद लगायतलाई थप उचाईमा पुर्याउँदै आन्तरिक तथा बाह्य पर्यटन आवागमनमा वृद्वि हुने अपेक्षा लिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: