थापाथलीको लक्ष्मीनारायण मन्दिर क्षेत्र अतिक्रमणमा « Nagarik Khabar

थापाथलीको लक्ष्मीनारायण मन्दिर क्षेत्र अतिक्रमणमा



  • पूर्णप्रसाद मिश्र

काठमाडौं । राजस्थानी शैलीमा राणाकालमा थापाथलीको कुरियागाउँमा बनेको लक्ष्मीनारायणको मन्दिर र त्यस वरपरको गुठी जग्गा अतिक्रमणमा परेको छ ।

काठमाडौं महानगरपालिका–११ मा रहेको मन्दिर र गुठी जग्गालाई पुरानै स्वरुपमा फर्काउन गुठी संस्थान लागिपरेको छ । सयौं वर्ष पुरानो पुरातात्कि महत्वको मन्दिरमा हाल स्थानीयलाई प्रवेशमा समेत रोक लगाइएको छ ।

मन्दिर परिसरको करिब साँढे दुई रोपनी जग्गामा पर्खाल लगाएर निजी बनाइएको छ ।

मन्दिर र यस वरपरको जग्गा पाइलट गोपाल श्रेष्ठ हुँदै उनकी श्रीमती पूर्वमन्त्री इन्दिरा श्रेष्ठ र हाल उनका छोरा जयपाल श्रेष्ठको नाममा नामसारी भएको छ । श्रेष्ठ परिवारले वर्षौंदेखि मन्दिर र त्यस वरपरको जग्गा निजी विद्यालय सञ्चालनका लागि भाडामा दिँदै आएको छ ।

यहाँ भिएस निकेतन, मेरी पपिन्स हुँदै हाल त्रैविद्या शिक्षा सदन भाडामा बस्दै आएका हुन् । त्रैविद्या शिक्षा सदन गत वैशाखदेखि यहाँको टहरामा भाडामा बसेको प्रधानाध्यापक सङ्गीता श्रेष्ठले बताइन् ।

सयौं वर्षदेखि मन्दिरमा प्रवेश गर्दै आएका स्थानीय बिहान–बेलुका जान नपाउँदा दुःख लागेको बताउँछन् । विसं २००० मा व्रतबन्ध गर्दा आफू दर्शन गर्न लक्ष्मीनारायण मन्दिरमा गएको स्थानीय वृद्ध मुकुन्द आचार्य सम्झन्छन् । ‘त्यसबेला मन्दिर सार्वजनिक थियो, वरपर चौर थियो, त्यहाँ हामी साँझ–बिहान खेल्थ्यौं, मन्दिरमा दर्शन गर्थ्यौं । पछि मनोहरशम्शेरले गोपाल श्रेष्ठलाई बेचेको सुनियो, मन्दिर र यस वरपरको जग्गा सार्वजनिक भएकाले यसलाई जोगाउनुपर्छ,’ उनले भने ।

यो मन्दिर ऐतिहासिक घटनासँग सम्बन्धित रहेको पुरुषोत्तमशम्शेरद्वारा लिखित ‘श्री ३ हरुको तथ्य वृत्तान्त’ नामक पुस्तकमा समेत उल्लेख छ । जसमा लखनऊ लुटका नामले चर्चित भारतीय घटनामा त्यहाँका राजा रणजीत सिंह मुसलमानको आक्रमणमा परे ।

उनकी रानीले बचाउन भनी तत्कालीन राणा शासक जङ्गबहादुरसँग हारगुहार मागिन् । जङ्गबहादुरले रानीलाई ल्याएर थापाथलीस्थित प्रसूतिगृह नजीकै घर बनाएर राखे । तिनै रानीले राजस्थानी शैलीमा लक्ष्मीनारायण मन्दिर बनाएको विषय पुरुषोत्तमशम्शेरले पुस्तकमा उल्लेख गरेको संस्कृतिको अध्ययन अनुसन्धानमा लागेका चेतोनाथ शर्मा आचार्यले जानकारी दिए ।

पुस्तौँदेखि बिहान–बेलुका मन्दिरमा पूजाआजाका लागि प्रवेश गरिरहेका स्थानीयवासीलाई एकाएक रोक्न थालेपछि यसका विरुद्ध केही मानिस सङ्गठित भए । यो विषय गुठी संस्थानसम्म पुग्यो । संस्थानले मन्दिर र त्यस वरपर रहेको जग्गा गुठीको हो भन्ने तथ्य प्रमाण फेला पारेको शाखा कार्यालय काठमाडौँका प्रमुख शैलेन्द्र पौडेलले बताए ।

वर्षौंदेखि सहजरुपमा मन्दिर प्रवेश गर्न नपाएकामा थापाथलीवासी क्रुद्ध छन् । मन्दिरको अघि सानो पोखरी थियो । पोखरीमा जलमाथि सुतेको नारायणको मूर्ति राखिएकामा अहिले त्यो संरचनासमेत हटाइएको छ । पोखरीमा कमल फुल्थ्यो । त्यही कमलको फूल लक्ष्मीनारायण मन्दिरमा चढाइन्थ्यो । यो परम्परासमेत लोप भएको छ ।

मन्दिर वरिपरिको जग्गामा विसं २०२३÷२०२४ तिर क्याप्टेन गोपालले निर्माण गरेको जस्ताको टहरा हावाले उडाएको चेतोनाथको स्मरणमा अझै ताजा छ । मन्दिरमा निर्बाध आउजाउ गर्न पाउनुपर्ने माग गर्दै स्थानीय पूर्णलाल, अश्लेचन, लगायतका स्थानीय, सर्वमङ्गल युवा समूहका सदस्य सचिव अर्जुन अधिकारी, सम्पदा संरक्षण उपभोक्ता समितिका अध्यक्ष सुशान्त श्रेष्ठलगायत मन्दिर संरक्षणमा जुटिरहेका छन् ।

युवा समूहका अध्यक्ष अधिकारी मुलुकको मुख्य प्रशासनिक भवनको अघि नै विकृतिका अनेक घटना हुँदासमेत सरोकार भएका निकायको ध्यान नगएको बताउँछन् । यहाँबाट पारि ललितपुर सामान वारपार गरिने भएकाले करिया गाउँ भनिन्थ्यो । भीमसेन थापाले हाल नेपाल कला परिषद् भएको स्थानमा दरबार बनाएपछि यो ठाउँलाई थापाथली भन्न थालिएको विषय पुरुषोत्तमशम्शेरले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

अवशेषका रुपमा थापाको दरबारको मूल ढोका विसं २०६५ सम्म आफूले देखेको अधिकारीले सुनाए ।

जङ्गबहादुर राणाको पुर्ख्यौली घरसमेत थापाथलीमै थियो । थापालाई राणाले यहाँबाट हटाएपछि कुरियागाउँ भन्न थालिएको स्थानीय बताउँछन् । हाल भाडामा दिइएको विद्यालय भएको स्थानका जग्गाधनी जयपालकी श्रीमती शैलजा श्रेष्ठ जोशी ५० वर्षअघि नै आफ्नो परिवारले किनेको जग्गाका बारेमा संस्थान र पुरातत्व विभागमा गलत सूचना पुगेको बताउँछ् ि।

‘भूकम्पपछि मन्दिर र पर्खाल भत्कियो मैले नै बनाएँ, यहाँका पुराना मान्छे सबैलाई थाहा छ, यो हाम्रो जग्गा हो, मेरा श्रीमान् यहीँ हुर्कनुभएको हो, संस्थानले गराएको सर्जमिनमा यहाँका सयौँ पुराना मानिसले हाम्रै जग्गा हो भनी हस्ताक्षर गरेका छन्, बाहिरबाट आएर यहाँ बसेका दुई–चार जना मानिसले मात्र हाम्राविरुद्ध उजुरी दिएका हुन्,’ उनले भनिन् ।

जग्गाको कित्ता नं र कति सालमा पास गरी ल्याएको भन्ने व्यक्तिगत सम्पत्ति भन्दै श्रेष्ठले खुलाउन चाहिनन् । यससम्बन्धी उजुरी हालै गठन भएको भूमिसम्बन्धी आयोगमा पनि परी छानबिनका क्रममा रहेको संस्थानले जनाएको छ ।

प्रशासक नारायण चौधरी जग्गाधनीले संस्थान स्थापना हुनुअघि विसं २०२० मा पास गरी लिएको कागजात देखाएको बताउँछन् । सरकारी सार्वजनिक जग्गासम्बन्धी आयोग र संस्थानको छानबिन गरी यो विषय टुङ्गो लगाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: