काम नगर्ने ठेकेदारलाई कारवाही गर्छौं : देवेन्द्र पौडेल « Nagarik Khabar

काम नगर्ने ठेकेदारलाई कारवाही गर्छौं : देवेन्द्र पौडेल



बाग्लुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङदेखि घोडाबाँधे क्षेत्रको सडक अलपत्र पार्ने ठेकेदारलाई सरकारले कारवाही गर्ने चेतावनी दिएका छन् ।

वाम गठबन्धनले बडिगाड गाउँपालिका–२ दनियामा शनिबार आयोजना गरेको चियापान कार्यक्रममा उनले विकास आयोजनामा ढिला हुनुमा सरकार मात्रै दोषी नहुने बताए । नेता पौडेलले काम ढिला गर्ने ठेकेदारलाई कानुनी कठघरामा उभ्याउन सरकार पछि नहट्ने चेतावनी दिए ।

अछेते घोडाबाँधे सडकको ठेक्का पाएको सूर्य कन्ट्रक्सन टाट पल्टिएपछि अहिले लोकमार्गको १२ किलोमिटर सडक अलपत्रजस्तै भएको छ । उनले देशको सार्वभौमिकता र सीमाका सन्दर्भमा विगतका आफ्ना नेताका भूमिकालाई हेर्न कांग्रेस कार्यकर्तालाई आग्रह गर्दै नेकपाप्रति भ्रम नफैलाउन चेतावनी दिए । पौडेलले सरकारले कूटनीतिक माध्यमबाट सबै समस्या समाधान गर्ने बताए ।

वर्तमान सरकारले लोडसेडिङ अन्त्य गरेको, झण्डै सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको, सुरुङमार्ग शुरु गरेको भन्दै उनले दर्जन बढी कामको फेहरिस्त सुनाए ।

कार्यक्रममा वडाध्यक्षका प्रत्यासी ढालप्रसाद शेरचन ‘ढालेन्द्र’ले आफू निरन्तर समाज सेवामा लागेको र थप जिम्मेवारीसहित विकासका लागि केन्द्रीय पहुँचसहित काम गर्न आफ्नो उम्मेदवारी भएको भन्दै आफूलाई मत दिन मतदातालाई आह्वान गरे ।

कार्यक्रममा स्थानीय निकायको निर्वाचन वि.सं. २०४९ र २०५४ मा कम्युनिष्टका तर्फबाट वडामा निर्वाचित वडाध्यक्ष तथा सदस्यलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि पौडेलले दोसल्ला ओढाएर सबैलाई सम्मान गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: