सीमा सुरक्षामा जुर्मुरायो सरकार, १८ किमिमा रहेको सुरक्षा चौकी ७ किमिमा झार्ने लक्ष्य « Nagarik Khabar

सीमा सुरक्षामा जुर्मुरायो सरकार, १८ किमिमा रहेको सुरक्षा चौकी ७ किमिमा झार्ने लक्ष्य



काठमाडौं । नेपालसँग सीमा जोडिएको क्षेत्रमा अझै आवश्यक मात्रामा ‘सीमा निगरानी चौकी’ स्थापना गर्न सकिएको छैन ।

सीमाको सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलले स्रोत साधन अभावले सीमित क्षेत्रमा मात्रै सुरक्षा चौकी स्थापना गरेको छ ।

अहिले स्थापना भएका सीमा निगरानी चौकीभन्दा दोब्बर बढीको आवश्यकता छ । अत्यावश्यक क्षेत्रमा समेत सशस्त्र प्रहरी पुग्न सकेको छैन । आजको राजधानी दैनिकमा नारायण ढुंगानाले यो समाचार लेखेका छन् ।

सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले समेत आवश्यक मात्रामा अझै ‘सीमा निगरानी चौकी’ स्थापना गर्न नसकिएको स्वीकार गरेको छ । सशस्त्र प्रहरी बल नेपालले अहिलेसम्म सीमा क्षेत्रमा १०७ चौकी स्थापना गरेको छ । उसले गरेको अध्ययनमा न्यूनतम २६५ स्थानमा सशस्त्रको उपस्थिति गराउनुपर्ने आवश्यकता छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक सुरजकुमार श्रेष्ठले जनशक्ति साधन, स्रोत र प्रविधिलगायत कारणले चौकी स्थापना गर्नेमा समस्या देखिएको बताउँदै आफ्नै प्रयासमा भएको जनशक्तिलाई परिचालन गरेर सशस्त्रले सीमाको निगरानी बढाउँदै आएको उल्लेख गरे ।

सीमा निगरानी बढाउन गत वर्ष २० चौकी थप गरेको र यो वर्ष २५ थप्ने योजना छ । ‘अहिलेसम्म मौजुदा सशस्त्र प्रहरीलाई नै परिचालन गरिरहेका छौं, अब थप प्रहरीको उपस्थिति बढाउँदा जनशक्ति, स्रोतसाधन र प्रविधि आवश्यक हुन्छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘अहिले हाम्रो औसत १८ किलोमिटरको दूरीमा एउटा चौकी छ, एक चौकीबाट अर्काेको दूरी सात किलोमिटरमा झार्ने योजनाका साथ २६५ पोष्ट आवश्यक हुने भनेर पहिचान भएको छ, तब मात्रै सुरक्षा निगरानी राम्रो गर्न सक्छौँ ।’

उत्तरतर्फ १७ र दक्षिणतर्फ २४८ चौकी भएमा सुरक्षा निगरानी राम्रो गर्न सकिने भन्दै श्रेष्ठले यसका लागि ठूलो जनशक्तिको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: