जहाँ स्वार्थ, त्यहाँ विकास « Nagarik Khabar

जहाँ स्वार्थ, त्यहाँ विकास



काठमाडौं । मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपालिकास्थित खैराङमा रहेको ठूलोटोड्के–ज्याबराङ–चरीमारा सडक गाउँपालिका र प्रदेश सरकारले निर्माण गर्यो । सडक ठाउँठाउँमा भत्किसकेको छ । पदैल यात्रीलाई पनि समस्या छ ।

आव ०७५/७६ मा राक्सिराङ गाउँपालिकाले सडक निर्माण गरेपछि ३ नम्बर प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले फराकिलो बनाउन लगानी गर्यो । दुई निकायले निर्माण गर्दा पनि सडक निर्माण पूरा हुन सकेको छैन ।

मकवानपुरकै कैलाश गाउँपालिका–२ स्थित छ्याङदुङदेखि सानो डाँडाखर्कसम्मको सडक निर्माण सम्पन्न भएपछि उपभोक्ता समितिले भुक्तानी लिन तीन महिना गाउँपालिका धाउनुपर्यो । अन्यत्रबाट डोजर ल्याएर प्रयोग गरेको भन्दै जनप्रतिनिधिले निर्माण सम्पन्न भएको सिफारिस र भुक्तानीमा दुःख दिएको उपभोक्ता समितिकी अध्यक्ष सरिता मगर बताउँछिन् ।

‘हामीले सस्तोमा डोजर पाएपछि अन्यत्रबाटै ल्यायौं । तर, गाउँपालिकाकै नेताहरूको डोजर प्रयोग नगरेको भन्दै दुःख दिने काम भयो,’ उनले भनिन्, ‘बिल भुक्तानीका लागि लामो समय दुःख दिने काम भयो ।’

धादिङमा पनि विकास निर्माणका काममा बेथिति मौलाउँदै गएका छन् । गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ स्वयं कर विवादमा मुछिए । व्यक्तिगत प्रयोजनका लागि गाउँपालिकामा नगद बुझाएको रसिद काटेको घटना सार्वजनिक भएपछि उनले पछि कर बुझाएका थिए ।

सिन्धुलीमा जनप्रतिनिधिले आफ्नो डोजर चलाउन जथाभाबी सडक खन्दा स्थानीय घरबारविहीन हुने चिन्ता थापिएको छ । सिन्धुलीको सोलाभन्ज्याङ–नागी ग्रामीण सडक, मदन भण्डारी लोकमार्गको सिन्धुली–मरिण खण्ड, दुम्जा–मरिण–कपिलाकोट–लालबन्दी सडक, चिसापानी–डाकाहा–चकमके सडकमा यस्तो समस्या आएको स्थानीय बताउँछन् ।

हख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा आव ०७५/७६ मा स्थानीय तहविरुद्ध करिब ४ सय उजुरी परेको थियो ।

उजुरीका आधारमा ३५ प्रतिशत स्थानीय निकायमा हुने गरेको देखिन्छ। ‘प्राप्त उजुरीमा स्थानीय तहको अलि बढी छ’, अख्तियार हेटौंडा कार्यालय प्रमुख शिव कार्कीले भने, ‘उजुरीमा हामी मसिनो ढंगले छानबिन र कारबाही प्रक्रिया अघि बढाउँदैछौं ।’

यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: