वैश्विक ऋण २५१ ट्रिलियन डलर : विश्वभरका प्रत्येक व्यक्तिलाई साढे ३२ हजार डलर ऋण « Nagarik Khabar

वैश्विक ऋण २५१ ट्रिलियन डलर : विश्वभरका प्रत्येक व्यक्तिलाई साढे ३२ हजार डलर ऋण



एजेन्सी । विस्तार विस्तार विश्व नै ऋणको बोझमा परेको बिहीबार सार्वजनिक एक रिपोर्टले देखाएको छ । वैश्विक कर्जा अहिले झण्डै २५१ ट्रिलियन डलर (२५०.९ ट्रिलियन डलर) पुगेको छ ।

अहिले विश्वको जनसंख्या करिब ७.७ अरब छ । जसअनुसार ऋण र जनसंख्यालाई हेर्दा प्रतिव्यक्ति ३२ हजार ५५० अमेरिकी डलर अर्थात् ३७ लाख २८ हजार ९ सय २८ रुपैयाँ ऋण रहेको छ ।

यति मात्र होइन इन्टरनेसनल इन्स्टिच्युट अफ फाइनान्स (आइआइएफ) ले बिहीबार जारी गरेको रिपोर्टमा सन् २०१९ सम्ममा वैश्विक कर्जाले यसअघिका सबै रेकर्ड तोड्ने जनाइएको छ । रिपोर्ट अनुसार सन् २०१९ को अन्त्य सम्ममा त्यस्तो ऋण ऋण २५५ ट्रिलियन डलर पुग्ने सम्भावना छ ।

रिपोर्टमा जनाइएअनुसार पछिल्लो ६ महिनामा ७.५ ट्रिलियन डलर वृद्धि भएर त्यस्तो ऋण २५०.९ ट्रिलियन डलर पुगेको हो । सन् २०१९ को अन्त्यसम्म पुग्दा यसमा अझ बढोत्तरी भई २५५ ट्रिलियन डलर पुग्नेछ ।

अमेरिका र चीनले पछिल्लो समय ठूलो परिणाममा ऋण लिएको र त्यसको कारण वैश्विक कर्जामा वृद्धि भएको रिपोर्टमा जनाइएको छ । विश्वभर ऋण बढाउन अमेरिका र चीनको मात्रै ६० प्रतिशत योगदान छ । बढ्दो ऋणले लगानीकर्तालाई चिन्तित बनाएको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टमा अमेरिका, चीन, इटाली, लेबनान, अर्जेन्टिना, ब्राजिल, दक्षिण अफ्रिका तथा ग्रीसका सरकारमाथि कर्जाको ठूलो बोझ भएको उल्लेख छ । त्यस्तै गरी अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)का अनुसार विश्वका ठूला अर्थव्यवस्थामा करिब ४० प्रतिशत (१९ ट्रिलियन अमेरिकी डलर) कर्जा जोखिममा छ । यस्ता देशमा अमेरिका चीनका साथै जर्मनी, ब्रिटेन, फ्रान्स, इटली आदि देश पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: