प्रहरी चौकीबाट हामफालेर भाग्न खोज्दा सैनिक जवानको मृत्यु « Nagarik Khabar

प्रहरी चौकीबाट हामफालेर भाग्न खोज्दा सैनिक जवानको मृत्यु



चितवन । चितवनमा प्रहरी चौकीबाट भाग्न खोज्दा एक सैनिक जवानको मृत्यु भएको छ । चितवनस्थित अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आइतबार एक सैनिक जवानको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही गाउँपालिका–५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा रुपमा कार्यरत थिए ।

प्रहरी चौकीको बरण्डाबाट भाग्ने क्रममा हामफाल्दा उनी गम्भीर घाइते भएका थिए । घाइते कँडेलको उपचारका क्रममा आइतबार बिहान भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घटनाको अनुसन्धानका लागि दुईजना प्रहरीलाई नियन्त्रणमा लिइएको छ । कँडेल बिहान ७ः३० बजे बरण्डाबाट हामफालेका थिए ।

घर बिदामा आएको समयमा मादक पदार्थ सेवन गरी प्रहरीसँग भनाभन परेपछि उनलाई आइतबारै बिहान प्रहरीले पक्राउ गरेको थियो ।

इच्छाकामना मेला भरेर बिहान सबेरै फर्कने क्रममा महिलाहरुमाथि दुर्व्यहार गर्न खोजेपछि प्रहरीले उनलाई सम्झाउन खोज्दा भनाभन भएको थियो । त्यसपछि उनलाई नियन्त्रणमा लिइएको थियो । चौकीका एक प्रहरी शौच गर्न गएका समयमा अर्का प्रहरीलाई धकेलेर उनी हामफालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: