अतिक्रमित भूमि ल्याइछाड्छौं : प्रधानमन्त्री « Nagarik Khabar

अतिक्रमित भूमि ल्याइछाड्छौं : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूमि ल्याइछाड्ने बताएका छन् । पार्टीको भातृ संस्था राष्ट्रिय युवा संघ नेपालको एकता भेलालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार राष्ट्रियता र भौगोलिक अखण्डताको पक्षमा दृढ रहेको बताए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक, लिम्पियाधुराबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरे । ‘हाम्रो भूमिबाट छिमेकीले विदेशी सेना फिर्ता लैजाऊन्,’ ओलीले भने, ‘हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं । कतिपयले नक्सा सच्याउनुपर्यो भनेका छन् नक्सा सच्याउने मात्र होइन सरकारले हाम्रो भूमि फिर्ता ल्याउँछ ।’

उनले संवादकै मार्फतबाट सीमा विवाद समाधान गर्न सरकार सक्षम रहेको र छिमेकीसँग तनाव नचाहेको प्रष्ट पारे । ‘छिमेकीसँग किनचित तनाव नहोस् भन्ने हामी चाहन्छौं,’ उनले भने, ‘अहिलेको सरकार संवाद गर्न नसक्ने छैन । राष्ट्रिय हितका पक्षमा अड्न र लड्न सक्छ ।’

‘पहिले राष्ट्रियताको पक्षमा सरकार अडिइदिए हुन्थ्यो भन्ने मृगतृष्णा थियो, अहिले दृढ सरकार छ,’ ओलीले भने, ‘भौगोलिक अखण्डता र राष्ट्रिय हित संरक्षणमा दृढ सरकार छ ।’

भारतले अतिक्रमण गरेको नेपाली भूमिबाट पछाडि हट्नुको विकल्प नभएको उनले बताए । ‘सीमा समस्या अहिले भर्खर भएको होइन । अघिल्लो शताब्दीमा भएको हो,’ उनले भने , ‘केहीले अहिले भर्खर भएको हो कि झैं कुरा उठाइरहेका छन्, त्यसो होइन ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: