उद्योग व्यवसायका लागि सहज वातावरण निर्माण हुँदैछ : खतिवडा « Nagarik Khabar

उद्योग व्यवसायका लागि सहज वातावरण निर्माण हुँदैछ : खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण निर्माण हुने बताएका छन् ।

उनले मुलुकलाई अत्याधिक ऋणको चापबाट मुक्त गराउन सरकारले कर नीति लिँदा केही अप्ठयारो भए पनि उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण बन्ने बताए ।

अत्याधिक ऋणको मारबाट मुक्त गराउन करसम्बन्धी अलोकप्रिय नीति लिनु परेको उनको भनाइ थियो । ‘राजस्व प्रणालीमा करको कुरा नगर्ने हो भने हामी अत्याधिक ऋणको बाटोमा जान्छौं,’ कर दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खतिवडाले भने, ‘अत्याधिक ऋणको चापले मुलुकलाई संकटमा फसाउने हुनाले दीर्घकालीन हितका लागि करसम्बन्धी अलोकप्रिय निर्णय लिनु परेको हो ।’

मुलुकको अर्थतन्त्र अध्यारोबाट उज्यालोतर्फ अघि बढिरहेकाले केही समस्या हुन सक्ने उल्लेख गर्दै त्यसलाई सल्टयाउँदै लैजाने बाटोबाट सरकार अघि बढिरहेको उनको भनाइ थियो ।

व्यवसायीलाई मुलुकप्रति जवाफदेही बनाउन कर कानुन लागू गरिएको बताउँदै उनले अर्थतन्त्रलाई सवल, आत्मनिर्भर र सुदृढ बनाउन आफूले काम गरिरहेको दाबी गरे । दक्षिण एसीयामा नेपाल सबैभन्दा कम ऋण भएको मुलुकको रुपमा पहिचान बनाउन सफल भएको अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: