बोलिभियामा विरोध प्रदर्शन, आठको मृत्यु « Nagarik Khabar

बोलिभियामा विरोध प्रदर्शन, आठको मृत्यु



एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा शुक्रबार सुरक्षाबल र प्रदर्शनकारीबीच भएको झडपका क्रममा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

यस प्रदर्शनको क्रममा आठ जना मारिनुको साथै अन्य १ सय ३२ जना घाइते भएका सरकारी स्रोतले पुष्टि गरेको छ ।

घाइतेहरुमध्ये अधिकांशलाई गोली लागेको बताइएको छ ।

प्रदर्शनकारीहरु राष्ट्रपति इभो मोरालेसका समर्थकहरु रहेका जनाइएकोे छ । उनले भने राजीनामा दिइसकेका छन् ।

बोलिभियामा गत अक्टोबर २० मा भएको निर्वाचनबाट पुनः चौथो पटक राष्ट्रपतिमा चयन भएका इभो मोरालेसका विरुद्धमा तीन हप्तादेखि शृंखलाबद्ध विरोध प्रदर्शन भइरहेको थियो ।

विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजीनामा गरेका थिए ।

सेनाले समर्थन नगर्ने घोषणापछि मोरालेसले नोभेम्बर १० मा राजीनामाको घोषणा गरेका हुन् । त्यसपछि मेक्सिकोतर्फ लागेका र मेक्सिकोले उनलाई राजनीतिक शरण दिने प्रस्ताव गरेको बताइएको छ ।

राष्ट्रपति मोरालेसको राजीनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल जुलुस निकालिएको थियो । मोरालेसका समर्थकहरूले मंगलबारदेखि बोलिभियाका विभिन्न क्षेत्रहरुमा भेला भएका थिए ।

विपक्षीले समर्थन गरेको अन्तरिम सरकारका नेता जेनिन अनेजको राजीनामा, मोरालेसको फिर्तीको माग गर्दै समर्थकहरु विरोध प्रदर्शन जारी राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: