४ सय रुपैयाँ लिएर काठमाडौं आएका सोनाम यसरी बने करोडपति (भिडियो सहित) « Nagarik Khabar

४ सय रुपैयाँ लिएर काठमाडौं आएका सोनाम यसरी बने करोडपति (भिडियो सहित)



सोलुखुम्बुबाट ४ सय ७० रुपैयाँ बोकेर काठमाडौं छिरेका थिए सोनाम शेर्पा ।

उनै सोनाम अहिले प्रसिद्ध ‘सोनाम गियर’का कम्पनी सञ्चालकका रुपमा प्रसिद्ध छन् । त्यो समय उनले अहिलेको उचाई कल्पना समेत गरेका थिएनन् ।

अहिले सोनाम गियरको कपडा तथा जुत्ताको उत्पादन मुलुकभर नै प्रसिद्ध छ । काठमाडौं उपत्यकामा मात्रै नौ वटा शोरुम छन् । देशभरी १४ वटा शोरुम रहेको कम्पनीले जनाएको छ ।

शोरुममा सोनाम गियरको ज्याकेट, टिसर्ट, ट्रेकिङको पोशाक, सर्ट, जुत्तालगायतका सामग्री विक्रीका लागि राखिएका छन् । सोनाम गियरको उत्पादन काठमाडौं, पोखरापछि चितवनको सिजी ल्याण्डमार्कमा समेत राखिएको म्यानेजर अमित लामाको भनाइ छ ।

लामाका अनुसार सोनाम गियरको सामान तराईदेखि हिमालसम्म बस्ने मानिसका लागि उपयुक्त हुने स्वदेशी गुणस्तरीय उत्पादन हो ।

‘सोनाम गियरको कपडा स्वदेशको गुणस्तरीय ब्राण्ड बनेको छ,’ लामाले भने, ‘नेपालको ब्राण्ड हो । यसलाई अन्तराष्ट्रिय बजारको उत्पादनले पनि प्रतिस्पर्धामा पछि पार्न सक्दैन ।’ सोनामको उत्पादन दुई हजारदेखि १२ हजारसम्मका छन् ।

ठँहिटीको एउटा कोठा भाडामा लिएर चौरमा बसेर ३ सय रुपैयाँमा दिनभरी पाल रिपेयरिङको अनुभवपछि शेर्पाले यो व्यवसाय शुरु गरेका थिए । यसरी तीन सय रुपैयाँमा काम गर्ने सोनाम अहिले तीन सय जनालाई रोजगारी दिने उद्यमी बन्न सफल भएका छन् ।

सोनामको उत्पादन स्पेन, इङ्ल्याण्ड, अमेरिका, क्यानडा, सिंगापुर, चीन लगायतका नागरिकहरुले समेत प्रयोग गर्ने गरेका छन् । चप्पल लगाएर २०४९ भदौमा काठमाडौं उपत्यका छिरेका सोनामको प्रोपर्टी अहिले करोडौं नाघि सकेको छ ।

२०५४ सालमा उनले ट्रेकिङका लागि आवश्यक कपडा, आवश्यक सामाग्री र एउटा लुगा सिउने मेसिन सहित ‘सोनाम’ ब्राण्ड सुरु गरेका थिए । त्यही मेसिनबाट ब्याग उत्पादन गर्न थालेको २३ वर्ष नाघिसकेको छ ।

यसरी बन्यो नेपाली ब्रान्ड

पर्यटकीय क्षेत्रका लागि चाहिने विदेशी ब्रान्डका सामान महँगो भएको समयमा शेर्पाले सोनाम ब्राण्ड सुरु गरेका थिए । एउटै स्लिपिङ व्याग ६० हजार रुपैयाँ पर्ने समयमा सोनाम ब्राण्डको डाउन ज्याकेट २० हजार रुपैयाँमा बजारमा आएको थियो । २०५९ सालमा शेर्पाले ‘एभरेष्ट हार्डवेयर’ नामको आफ्नै ट्रेडमार्क घरेलु र कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेपछि थप बजार प्रवद्र्धन भयो ।

सोनामको ३० प्रकारको उत्पादन

सोनामले आफ्नो ट्रेडमार्कबाट ३० किसिमका सामान उत्पादन गर्ने गरेको छ । डाउन ज्याकेट, डाउन स्लिपिङ ब्याग, पञ्जा, जुत्ता, सुट, विन्ड प्रुफ ज्याकेट, सुरुवाल लगायत उत्पादन हुन्। 

सोनाम ब्राण्ड नेपालको ब्राण्ड भएकाले पनि नेपालीहरुले गर्वका साथ लगाउने गरेको सोनाम गियरका म्यानेजर लामा बताउँछन् ।

विदेशी ब्रान्डसँग प्रतिस्पर्धा

सोनामको उत्पादन (नेपाली ब्रान्ड) पनि विदेशी नाम चलेका ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्छन् । तर यहाँको राजनीतिक वातावरणदेखि अस्वस्थ प्रतिस्पर्धाका कारण प्रभावित हुने गरेको छ । यसका साथै सरकारले बिजुलीदेखि भन्सारसम्मको सुविधा र औद्योगिक क्षेत्र बनाएर काम गर्ने वातावरण बनाउन आवश्यक देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: