नेपाली कफीको विदेशमा माग, वार्षिक ३० करोडको उत्पादन

कफी दिवस



काठमाडौं । पछिल्लो समय नेपालमा कफी पिउनेको जमात वृद्धि हुँदै गइरहेको छ । विभिन्न नाम र ब्राण्डका कफी पिउने नेपालीहरुको सोख अझ विकसित हुँदै गएको व्यवसायीहरु बताउँछन् ।

नेपालमा विरस. १९९५ मा गुल्मी आँपचौर निवासी हीरा गिरीले बर्माबाट बीउ ल्याएर कफी खेतीको सुरुवात गरेका थिए । त्यसपछि कफी खेतीको आकर्षण र व्यवसाय फस्टाउँदै गएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवत्ता गौरव लुइटेलको भनाइ छ । उनका अनुसार करिव सात हजार किसानहरु कफी खेतीमा संलग्न छन् ।

११ लाख हेक्टरमा कफीको सम्भावना

नेपालमा ११ लाख हेक्टर क्षेत्रफलमा कफीको सम्भावना छ । ८ सय मिटर उचाइदेखि १६ सय मिटर उचाइसम्म मध्य पहाडका ३२ जिल्लाहरुमा कफीको उत्पादन भइरहेको छ । जसमध्ये पूर्वमा इलाम, ताप्लेजुङदेखि पश्चिममा अर्घाखाँचि र प्युठानसम्म व्यवसायिक रुपले कफी खेती गरेको पाइन्छ ।

केन्द्रीय तथ्याङ्क विभाग अन्तर्गतको कृषि तथा पशुपन्छी शाखाका अनुसार २०७५र७६ को सर्वेक्षण अनुसार ३२ जिल्लामा ६ हजार ३४६ किसानहरु कफी खेतीमा संलग्न छन् ।

यस्तै, ९७३ हेक्टर जमिनमा व्यवसायिक कफीखेती गरी वार्षिक १ हजार ५७३ मेट्रिक टन चेरी उत्पादन गरेको विभागले जनाएको छ । अहिले २ हजार ६ सय ५० हेक्टरमा कफी खेती भइरहेको छ । तर कफी खेतीबारे सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा उत्पादनत्वमा वृद्धि हुन सकेको छैन ।

नेपालमा कफी खेती शुरु भएको लामो समय बितिसक्दा पनि एउटै जातको मात्र कफी लगाएकाले उत्पादनमा वृद्धि हुन नसकेको चिया तथा कफी विकास बोर्डले जनाएको छ । अहिले नेपालभर अराबिका वर्णको टिपिका र बर्बन जातका कफी मात्र लगाइएको बोर्डका प्रवक्ता लुइटेलले जानकारी दिए । अन्य, जातका कफी अनुसन्धान गरेर खेती गर्न सके उत्पादकत्वमा वृद्धि हुने उनको भनाइ छ ।

कफी उत्पादन

७७ जिल्लामध्ये हाल ४२ जिल्लामा व्यवसायिक रुपमा कफी खेती भइरहेको छ । चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७१/०७२ मा ४ सय ६३ मेट्रिक टन कफी उत्पादन भएको थियो । 

आव ०७२/७३ मा ४ सय ३२ मेट्रिक टन, ०७३/७४ मा ४ सय ६६ मेट्रिक टन र ०७४/७५ मा ५ सय मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै आर्थिक वर्ष ०७५/०७६ मा ५ सय ३० मेट्रिक टन उत्पादन भएको छ ।

आयातमा वृद्धि

नेपालमा कफी पिउनेको संख्यामा वृद्धि भएसँगै यसको माग पनि अत्याधिक बढेको छ । नेपालले आफ्नो उत्पादनले धान्न नसकेर विदेशबाट समेत कफी आयत गरिरहेको छ ।

आर्थिक वर्ष ०७४/७५ मा मात्र ६५ करोड ४६ लाख १४ हजार रुपैयाँको कफी आयत भएको भन्सार विभागले जनाएको छ । जसमध्ये ५८ करोड ३५ लाख ५६ हजार रुपैयाँको तयारी कफी आयत भएको थियो भने ६ करोड६९ लाख रुपैयाँको कफीको गेडा आयत भएको विभागले जनाएको छ ।

नेपालमा भारत, चीन, बंगलादेश, मलेशिया, नेदरल्याण्ड, डेनमार्क, बेलायत लगायतका देशबाट कफी आयत हुने गरेको छ ।

यसरी शुरु भयो खेती

नेपालमा वि.स. १९९५ मा गुल्मी आँपचौर निवासी हीरा गिरीले बर्माबाट बीउ ल्याएर कफी खेतीको सुरुवात गरेका थिए ।

यसैक्रममा पाल्पा, स्याङ्जा, पर्वत, अर्घाखाँची, कास्की, लमजुङ, तनहुँ, गोरखा, ललितपुर, धादिङ, सिन्धुपाल्चोक, काभ्रे आदि जिल्लाहरुमा कफी खेतीको विस्तार हुँदै गएको पाइन्छ ।

भौगोलिक हावापानी र माटोका हिसाबले नेपालका मध्य पहाडी जिल्लाहरुमा अराबिका कफीको राम्रो सम्भावना देखिएसँगै पूर्वका इलाम, झापा, संखुवासभा, पाँचथर, धनकुटा, भोजपुर, ओखलढुंगा लगायतका जिल्लाहरुमा व्यवसायिक कफी खेतीको सुरुवात भएको देखिन्छ ।

नेपलको कफी विदेश निर्यात

नेपालमा उत्पादन भएको कफी जापान, अस्ट्रेलिया, अमेरिका, कोरिया, जर्मनी, बेलायत, क्यानाडालगायत मुलुकमा अर्गानिक ग्रिन बिन (कफीको कच्चा पदार्थ) का रूपमा निर्यात हुँदै आएको छ । बाँकी कफी स्वदेशी बजारमा खपत हुने गरेको बोर्डले जनाएको छ । नेपालमा वार्षिक करिब ३० करोड मूल्यबराबरको चार सय ३४ टन कफी उत्पादन हुन्छ । यसमध्ये करिब ५० प्रतिशत निर्यात हुन्छ ।

अन्तर्राष्ट्रिय बजारमा वार्षिक आठ हजार मेट्रिक टन कफीको माग छ । नेपाली कफी विश्व बजारमा प्रतिकिलो १० डलरसम्ममा बिक्री हुन्छ । यो मूल्य अन्य मुलुकको कफीले पाउँदैनन् ।

विभागको तथ्याङ्कअनुसार गत वर्ष ९ करोड ९६ लाख ३२ हजार रुपैयाँको कफी निर्यात भएको छ । जसमा ४१ लाख ४६ हजार रुपैयाँको तयारी कफी र ९ करोड ५४ ८५ हजार रुपैयाँको कफीको गेडा निर्यात भएको छ । यसरी हेर्दा अन्तराष्ट्रिय बजारमा कफीको माग अत्याधिक छ । तर त्यो मागलाई धान्न सक्ने उत्पादन भने हुन सकेको छैन ।

मूल्य निर्धारण

आज (आइतबार) १५ औं कफी दिवशको अवसरमा सरकारले विभिन्न कार्यक्रम सहित मनाइरहेको छ । कफी दिवसकै अवसरमा सरकारले कफीको मूल्य निर्धारण समेत गरेको छ ।

राष्ट्रिय चिया तथा कफि विकास बोर्डले काँचो कफीको न्युन्तम समर्थन मुल्य निर्धारण गरेको हो । जसअन्तर्गत, फ्रेस चेरी ग्रेड‘ए’ को प्रतिकेजी ८५ रुपैयाँ, फ्रेस चेरी ग्रेड‘बी’ को प्रतिकेजी ७५ रुपैयाँ निर्धारण गरिएको बोर्डका प्रवत्ता लुइँटेलले जानकारी दिए ।

त्यस्तै, पार्चमेन्ट कफी ग्रेड‘ए’ को प्रतिकेजी मुल्य ४२५, ग्रेड ‘बी’ को प्रतिकेजी ३७५ रुपैयाँ कायम भएको छ । यता, ड्राइ चेरी कफीको ग्रेड ‘ए’ को प्रतिकेजी १४० रुपैयाँ र ड्राइचेरी कफी ग्रेड‘बी’ को प्रतिकेजी ९० रुपैयाँ निर्धारण भएको बोर्डले जनाएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV