कुवेतमा थुनिएका २१ नेपालीलाई तत्काल फिर्ता गर्न सरकारलाई निर्देशन « Nagarik Khabar

कुवेतमा थुनिएका २१ नेपालीलाई तत्काल फिर्ता गर्न सरकारलाई निर्देशन



काठमाडौं । संसदीय समितिले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल स्वदेश फर्काउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

कामको खोजीमा कुवेतमा अवैधानिक ढंगले पुगेका २१ जना नेपाली कामदारलाई कुवेत सरकारले थुनामा राखेको छ ।

थुनामा राखेका उनीहरुको दण्ड जरिवाना तिरेर भए पनि तत्काल फिर्ता पठाउन समितिले सरकारलाई निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए ।

थुनामा रहेका ती नागरिकका लागि ५४ लाख जरिवान तिरेर नेपाल फर्काउन सकिने कुवेतस्थित नेपाली दुतावासको भनाई छ ।

त्यसैगरी समितिले उनीहरुलाई अवैधानिक ढंगले कुवेत पुर्याउने म्यानपावर कम्पनीमाथि पनि कडा कार्वाही गर्न सरकारलाई सचेत गराएको छ ।

यता, सरकारले भने कवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई स्वदेश फिर्ता गराउन कुवेत सरकारसँग छलफल भईरहेको जनाएको छ ।

परराष्ट्र सचिव शंकरदास बैरागीले उनीहरुलाई स्वदेश फर्काउन त्यहाँस्थित नेपाली दुतावासमार्फत पहल भईरहेको बताए ।

उनले समितिको बैठकमा उनीहरुमाथि तोकिएको दण्ड जरिवाना मिनाहा गर्न पनि कुवेत सरकारसँग नेपाली दुतावासले कुरा गरिरहेको पनि जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले कामको खोजीमा अवैधानिक ढंगले कुवेत पुगेका ती नागरिकहरुलाई स्वदेश फिर्ता गराउन पहल नगरेको भन्दै सरकारको आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: