‘कालापानी नेपालको भूभाग हो’ « Nagarik Khabar

‘कालापानी नेपालको भूभाग हो’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कालापानी लगायतको भूमि नेपालको रहेको भन्नेमा कुनै दुविधा नरहेको बताउनुभएको छ ।

ऐतिहासिक तथ्य र प्रमाणका आधारमा कालापानी क्षेत्र नेपालको भएको उनले बताए ।

“सरकारले यो विषयलाई स्पष्ट पारिसकेको छ । अब कूटनीतिक पहल गरी तत्काल नेपाली भूमि फिर्ता ल्याउनुपर्छ”, नेता नेपालले भने ।

नेपाल वैकल्पिक अध्ययन समाजले आज यहाँ आयोजना गरेको ‘नेपाल–भारत–चीन सम्बन्ध टु प्लस वान कि त्रिपक्षीय’ विषयक छलफलमा उहाँले नेपालको हितलाई केन्द्रमा राखेर सीमा समस्या समाधान गर्न कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिए ।

सबै छिमेकी देशसँग मैत्रीपूर्ण सम्बन्ध राखेको दृष्टान्त पेश गर्दै नेता नेपालले विश्वका दुई उदीयमान अर्थतन्त्र भएका छिमेकी चीन र भारत जस्ता देशसँग थप विकसित सम्बन्ध जरुरी रहेको प्रष्ट पारे ।

द्वीपक्षीय विषयमा नेपालका राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्रले राम्रो तयारी नगर्दा वार्ताका क्रममा अपेक्षित परिणाम आउन नसकेको भन्दै उहाँले आवश्यक तयारी गरेर तर्क सङ्गत तरिकाले छलफल गर्दा जस्तोसुकै समस्याको समेत समाधान हुने विश्वास व्यक्त गरे ।

चीन र भारतको बीचमा रहेको नेपाल एकअर्का मुलुकलाई जोड्ने पुल बन्नुपर्नेमा जोड दिँदै उनले अन्य देशसँग पनि सम्बन्ध विकास र विस्तारमा कुनै कञ्जुस्याइँ गर्न नहुने बताए ।

उनले आफू परराष्ट्रमन्त्री भएका बेला फूलबारी–बङ्गलाबन्ध मार्ग खुलाउने विषयमा भारतसँग स्पष्ट संवाद गरेको प्रतिफल प्राप्त भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: