२७ सय सैनिक कारबाहीमा, सलामी नगर्नेमाथि पनि कारबाही « Nagarik Khabar

२७ सय सैनिक कारबाहीमा, सलामी नगर्नेमाथि पनि कारबाही



काठमाडौं । सैनिक मुख्यालयले विगत ६ वर्षमा विभिन्न पदमा रहेका २ हजार ७ सय १५ जना सैनिकमाथि विभागीय कारबाही गरेको छ ।

नेपाली सेनाका विभिन्न पदमा रहेर सैनिक ऐनविपरीत काम गरेको भन्दै सैनिक मुख्यालयले २०७१ देखि २०७६ को हालसम्म २ हजार ७ सय १५ जना सैनिकमाथि कारबाही गरेको हो ।

सेनामा जागिर खाएर भागेकादेखि अनुशासन तथा आचरणविपरीत काम गर्ने, कर्तव्य ज्यान मुद्दामा मुछिएका, जबर्जस्ती करणी, चोरी, ठगी, लागूऔषध कारोबारमा मुछिएका, हातहतियार तथा खरखजानामा मुछिएकासम्मलाई सैनिक मुख्यालयले कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा सवारी दुर्घटनादेखि आर्थिक अनियमिततामा मुछिएका सैनिकसमेत छन् । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

नेपाली सेनाका सहायकरथी एवं प्रवक्ता विज्ञानदेव पाण्डेले २०७१ सालदेखि हालसम्मको अवधिमा २ हजार ७ सय १५ जना सैनिकमाथि विभिन्न शीर्षकमा कारबाही भएको बताए ।

‘यसबीचको अवधिमा विभिन्न शीर्षकमा गरी विभिन्न तहमा कार्यरत २ हजार ७ सय १५ जनामाथि सैनिक कानुनअनुसार कारबाही भएको छ,’ प्रवक्ता पाण्डेले भने ।

सलामी नगर्ने पनि कारबाहीमा

सैनिक मुख्यालका अनुसार गत वैशाखदेखि हालसम्मको अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलाई सलामी नगर्ने ३० जनामाथि कारबाही भएको छ ।

आफूभन्दा माथिल्लो पदमा रहेका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र देखेर पनि सलामी नगर्ने ३० जनामाथि वैशाखयता कारबाही भएको हो । उनीहरूलाई सैनिक नियमअनुसार अनुशासनविपरीत आचरण गरेको भन्दै सचेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: