आश्रयस्थलबाट ९ शिशु गायब, संस्था भन्छ–योग्य परिवारलाई दियौं « Nagarik Khabar

आश्रयस्थलबाट ९ शिशु गायब, संस्था भन्छ–योग्य परिवारलाई दियौं



काठमाडौं । ललितपुरको गोदावरी–३ टौखेलस्थित एउटा आकर्षक भवनमा छ– ‘भ्रुणको आवाज’ । नामजस्तै यो गैरसरकारी संस्थाले बलात्कारलगायत घटनाबाट इच्छाविपरीत गर्भवती भएका व्यक्तिलाई आश्रय दिन्छ । प्रसूतिमा रेखदेख गर्छ । त्यसपछि शिशु आफूले राखेर महिलालाई फिर्ता पठाइदिन्छ ।

तर, ती शिशु बढ्ने क्रमसँगसँगै त्यहाँबाट गायब हुन्छन् । कहाँ लगिइन्छन् त ती ? हराएका तिनै ९ बालबालिकाबारे सरकारले ३ महिनादेखि अनुसन्धान गरिरहेको छ ।

यसबारे सम्बन्धित महिलाको आफन्तले उजुरी गरेका थिए । रकममा किनबेच गरेको सिकायतपछि गृह मन्त्रालयले छानबिन गराएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल नेतृत्वमा खटेको प्रहरीसहितको टोलीले कात्तिक २० गते प्रतिवेदन बुझाएको थियो ।

त्यसलाई गृह मन्त्रालयमा पठाएको जिल्ला प्रशासनले जनाएको छ । गोप्य अनुसन्धान भनिएको उक्त प्रतिवेदनअनुसार ९ बालबालिकालाई ‘स्थापित परिवारमा हस्तान्तरण गरेको’ विवरण संस्थाले पेस गरेको देखिएको छ ।

भुसाल नेतृत्वको टोली अनुसन्धान गर्न दसैंअघि संस्थामा पुगेको थियो । त्यति बेला संस्थाका कर्मचारीले ती बालबालिका ‘योग्य परिवारमा दिइएको’ भने पनि कागजातपत्र नदेखाएको भुसालले जानकारी दिए ।

‘संस्थाको भवन भव्य र व्यवस्थित रहेछ,’ उनले भने, ‘भौतिक सुविधा राम्रो भए पनि आफैं बालबालिका हस्तान्तरण गर्नु कतिसम्म कानुनी वा गैरकानुनी हो भन्ने प्रश्न छ । सबै तथ्य अहिले नै भन्न मिल्दैन ।’

‘भ्रुणको आवाज’ मा १० किशोरी तथा महिलाले बच्चा जन्माएको उक्त संस्थाका कार्यकारी निर्देशक सोमन राईले बताए । ‘तीमध्ये एकको मृत्यु भयो । अन्य ९ जनालाई आमाले नै योग्य परिवारमा हस्तान्तरण गरेका हुन्’, दाबी उनले गरे ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा नीतु घलेले ललितपुरबाट यो समाचार लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: