सन्दकपुरमा तस्बिर खिच्ने पर्यटकलाई एसएसबीको हप्कीदप्की « Nagarik Khabar

सन्दकपुरमा तस्बिर खिच्ने पर्यटकलाई एसएसबीको हप्कीदप्की



काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमा क्षेत्रमा रहेको सन्दकपुर (३ हजार ६ सय ३६ मिटर उचाइ) को भ्यु–प्वाइन्टमा जान पर्यटकलाई निषेध गरेको छ ।

एसएसबीले तीन देशका हिमालको दृश्यावलोकन गर्न सकिने सन्दकपुरको चुचुरोमा जान र तस्बिर खिच्न निषेध गरेको सूचना बोर्ड त्यहाँ राखेको छ ।

एसएसबीले यसअघि सन्दकपुर चुचुरोमा जान, घुम्न, तस्बिर खिच्न यस्तो निषेध गरेको थिएन । अहिले तस्बिर खिच्न नदिने मात्र होइन, खिचिसकेको तस्बिर डिलिट (मेट्न) गर्न लगाउने गरेको गुनासो पर्यटकको छ ।

पूर्वाधारविहीन यो चुचुरोमा भ्यु–प्वाइन्ट बनाउने सन्दकपुर गाउँपालिकाको प्रयास असफल पारेपछि एसएसबीले त्यहाँ प्रवेशमा कडाइ गरेको हो ।

सन्दकपुर जिल्लाकै सर्वाेत्कृष्ट पर्यटकीय गन्तव्य हो । सर्वाेच्च शिखर सगरमाथासहित नेपाल, भारत र भुटानका हिमाल यहाँबाट अवलोकन गर्न सकिन्छ । बर्सेनि आउने हजारौं पर्यटकले यो स्थानबाट सूर्याेदय, सूर्यास्तलगायत दर्जनौं हिमशृंखला अवलोकन गर्छन् ।

तर एसएसबीको धम्कीपछि पर्यटक यो चुचुरोमा जान हच्किन थालेका छन् । केही पर्यटक मात्र एसएसबीको आदेश बेवास्ता गरी सन्दकपुर डाँडामा पुग्ने गरेका छन् ।

सन्दकपुर चुचुरोभन्दा करिब डेढ सय मिटर तल बेसक्याम्प नै बनाएर बसेको एसएसबीले पर्यटकले तस्बिर खिचेको देखे हप्कीदप्की गर्दै आएको छ । सन्दकपुर डाँडामा पुग्ने पर्यटकले के गर्छन् भन्नेबारे जानकारी लिन एसएसबीका जवानहरूले नजिकैबाट पहरा दिन्छन् । ‘सन्दकपुर डाँडामा पुगेर वरिपरिको दृश्य मोबाइलमा खिच्दै गर्दा तलैबाट एसएसबीका जवानले छिटो त्यहाँबाट फर्किन र तस्बिर नखिच्न भने,’ इलाम नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष ठाकुरनारायण श्रेष्ठले भने, ‘त्यहाँ पुगेका पर्यटकलाई एसएसबीले घुम्न नदिनु र तस्बिर पनि खिच्न नदिनु हेपाहा प्रवृत्ति हो ।’

आजको नागरिक दैनिकमा भीम चापागाईंले सन्दकपुर इलामबाट यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: