मेडिकल कलेज ठगी प्रकरण : १२ कलेजमाथि छानबिन, तीनमा छापा « Nagarik Khabar

मेडिकल कलेज ठगी प्रकरण : १२ कलेजमाथि छानबिन, तीनमा छापा



काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेका १२ वटा निजी मेडिकल कलेजमाथिको छानबिन प्रक्रियालाई तीव्र पारेको छ ।

छानबिनका क्रममा आवश्यक कागजात दिन अस्वीकार गरी असहयोग गरेको भन्दै विभागले आइतबार तीनवटा मेडिकल कलेजमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको समाचार आजको राजधानी दैनिकमा प्रशान्त ओलीले लेखेका छन् ।

एमबीबीएस र बीडीएसको पढाइका नाममा करोडौं रुपैयाँ ठगी गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मेडिकल कलेजमाथि मुद्दा चलाउने अन्तिम तयारी थालेको छ ।

विभागले वीरगन्जस्थित नेसनल मेडिकल कलेज, विराटनगरको नोबल मेडिकल कलेज र चितवनको चितवन मेडिकल कलेजबाट महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो । कागजात माग्दा अटेर गरेपछि छापा मारेको विभागले जनाएको छ ।

ती कलेजको प्रशासन कक्षमा पनि सिलबन्दी गरिएको विभागले जनाएको छ । ती कलेजहरूले विवरण, तथ्यांक र सञ्चालक समितिका निर्णय लुकाएपछि विभागले टोली खटाएको थियो ।

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुखलाई जानकारी दिएर शुक्रबार नै विभागले काठमाडौंबाट ३÷३ सदस्य टोली कलेजमा पठाएको थियो ।

विभागद्वारा थप छानबिन थालिएका कलेजमा युनिभर्सल कलेज अफ मेडिकल साइन्स, गण्डकी मेडिकल कलेज, किस्ट मेडिकल कलेज, नेपालगन्ज मेडिकल कलेज, देवदह मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, मणिपाल कलेज अफ मेडिकल साइन्सेज, विराट मेडिकल कलेज, शिक्षण अस्पताल, काठमाडाैं मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्स छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: