राजपा–समाजवादी एकीकरण स्थगन « Nagarik Khabar

राजपा–समाजवादी एकीकरण स्थगन



काठमाडौं । समाजवादी पार्टीले तत्काल सरकार छाड्न इच्छा नदेखाएपछि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीचको सुरु भएको पार्टी एकीकरण प्रक्रिया तत्काललाई स्थगन भएको छ ।

समाजवादी पार्टीले सरकार नछाडेसम्म एकीकरण प्रक्रिया अघि नबढ्ने राजपाका नेताहरूले बताएका हुन् ।

‘समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकले तत्काल सरकार छाड्ने निर्णय नगरेपछि राजपा र समाजवादी पार्टीबीच सुरु भएको एकीकरण प्रक्रिया उहाँहरू (समाजवादी पार्टीका नेताहरू)ले नै स्थगन गरेको देखियोे,’ राजपाका नेता राजेन्द्र महतोले भने, ‘हामीले सुरुदेखि नै समाजवादी पार्टीसँग पार्टी एकीकरण गर्न समाजवादी पार्टीले सरकार छोड्नुपर्छ भन्दै आएका थियौं । हाम्रो भनाइ उहाँहरूले मानेको देखिएन ।’

समाजवादीले सरकार नछाडेसम्म एकीकरण प्रक्रिया र वार्ता संवाद अघि नबढ्ने उनले प्रष्ट पारे । उनले भने, ‘जुन सरकारले केही काम गरेको छैन । संविधान संशोधनको सिन्कोसमेत भाँचेको छैन । त्यो सरकरमा किन बसीरहने ?’

राजपाका अर्का नेता महेन्द्र यादवले भने समाजवादी पार्टीले सरकार छाडेमा एकीकरण प्रक्रिया अघि बढ्ने बताए । उनले भने, ‘उहाँहरूको पनि केही परिस्थिति होला। ती परिस्थिति मिलाएर तत्काल सरकार छाड्नुपर्छ ।’

राजपाका नेताका अनुसार समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक बस्नुअघि राजपाका नेताहरूलाई पार्टीको केन्द्रीय समितिको बैठकबाट पार्टी सरकारबाट बाहिरिने आश्वासन समाजवादी पार्टीका नेताहरूले दिएका थिए । बैठकको अजेन्डा पनि सरकार छाड्ने बनाइएको थियो ।

आजको नागरिक दैनिकमा भुवन शर्माले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: