१०० वर्षीय हस्तबहादुरका ७ सम्झना: सुका माना घ्यु, १ रुपैयाँ धार्नी मासु !


SHARES

  • दीपेन्द्र राई

‘भात नखाएको ?,’ उनले काँपेको स्वरमा सुनाए, ‘६ दिन भयो ।’

किन नखानुभएको त ?

‘पकाउन जाँगर चलेन,’ उनले भने, ‘भात खान पनि त्यति मन लाग्दैन ।’

त्यसो भए के खान मन लाग्छ ?

‘जाँड,’ उनले थपे, ‘अनि रक्सी ।’

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गैरीगुठ पुग्दा हस्तबहादुर राई घरमै भेटिए । छिमेकीसहित राईको घर पुग्दा उनी थाकेको प्रस्टै देखिन्थे । १०० पुरा भएपछि थाकेको देखिनु अस्वाभाविक होइन । यत्तिका उमेरमा थाकेको देखिनु र ६ दिन भोकभोकै बस्नुको पीडा शब्दमा व्यक्त गर्न सजिलो छैन ।

संवत् १९७६ मा जन्मेका उनले तीन बिहे गरेका थिए । तीन बिहे गरे पनि उनको साथमा कोही छैनन् । जेठी र माइली श्रीमतीको निधन भइसकेको छ । कान्छी श्रीमतीबारे अनभिज्ञ छन् ।

‘१२ छोरा, १३ नाति, बूढाको धोक्रो काँधैमाथि’ भन्ने नेपाली उखान प्रचलित छ । हो, त्यही उखानसँग उनको जीवनमा मेल खाएको छ । लाग्छ– यो उखान उनकै लागि बनेको हो । जेठी श्रीमतीपट्टि दुई र माइली श्रीमतीबाट एक छोरा जन्मे । छोरी पनि थिए । उनले दुःखेसो पोखे, ‘जेठीपट्टिका दुई छोरा अघि लगाइसकें ।’

माइलीपट्टिका छोरा धनहर्क राई उदयपुरको गाईघाट बस्छन् । आफ्ना छोरी कतिजना हुन् उनी भन्न सक्दैनन् । सम्झेर भन्न लगाउन उचित पनि लागेन । छोरीहरू छन् कि छैनन् । छन् भने कता छन्, पत्तो छैन ।

त्यसो भएपछि बुढ्यौलीमा एक्लै बस्नुको विकल्प रहेन । ‘१५–२० वर्ष भयो एक्लै बस्न थाल्नुभएको,’ नातामा भतिजा पर्ने चक्रबहादुर राईले जानकारी गराए, ‘तिप्पा (बडाबाउ) को बिजोग छ । यो उमेरमा आफैं पकाएर खानुमात्रै पनि त्यति सजिलो छैन ।’

दुई वर्षअघिसम्म उनले हलो जोतेको देख्ने छिमेकीहरू जीवितै छन् । त्यसपछि उनको संसार भनेकै घरभित्र र बाहिरमात्रै बन्यो । घर भित्र–बाहिर गर्नु उनको दिनचर्या बनेको छ । घरबाहिर निस्केर पर–पर हेर्न खोजे पनि धमिलोमात्रै देख्छन् । ‘कालोमात्रै देख्छु,’ उनले स्वीकारे, ‘मैले देख्ने सबै–सबै मेरो घरको ढोकाजस्तै कालो देख्छु । तर, कानचाहिँ अलि–अलि सुनेकै छु ।’

सम्झना–१

बाल्यकालदेखि हातपाउ चलुन्जेलसम्म उनले घुमेका रनवन कस्तो भयो होला भनेर नियाल्ने प्रयत्न गर्छन् । त्यसताका बन्दुक बोकेर सिकार खेल्न गएको समय सम्झन्छन् । अतीत सम्झँदा बुढ्यौली मन बालक बन्न खोज्छ ।

‘एउटै गोलीले तीनवटा कालिज मारेको थिएँ,’ उनले विगत सम्झे, ‘ढुकुर पनि मारेकै हो ।’ उनी सिकार खेल्न सोखिन भएको छिमेकीहरूले सुनाए ।

सम्झना–२

कुराकानीका क्रममा उनले अतीत सम्झने प्रयत्न गरे । अतीत सुनाउँदा उनी उज्यालो देखिएझैं लाग्थ्यो । ‘९० सालको भूकम्प जाँदा १४ वर्षको थिएँ ।

भूकम्पले मुलुकभरि धनजनको क्षति भयो भन्ने सुने,’ उनले खुसी व्यक्त गरे, ‘हाम्रोतिर खासै असर पारेन । भूकम्प जाँदा भैंसीलाई पानी खुवाइरहेको थिएँ । मलाईचाहिँ केही भएन ।’

सम्झना–३

बोलेको बुझ्न निकै गाह्रो थियो । कान थापेर सुन्नुपथ्र्यो । उनले अतीतको पोको फुकाउन थाले, ‘सुका माना घ्यु र १ रुपैयाँ धार्नी मासु खाएको ज्यान यही हो ।’

सम्झना–४

संवत् २०३४ सालमा खोटाङको हलेसी क्षेत्रमा अनिकाल लागेको थियो । त्यतिबेला ज्यान जोगाउन निकै गाह्रो परेको थियो । ‘सुका पाथी अन्नपात किनेर भुङ्डी भरेका थियौं,’ उनले प्रस्ट्याए, ‘माथिल्लो ऐंसेलुखर्कसम्म पुगेर अन्नपात किनेर ल्यायौं ।’

सम्झना–५

पछिल्लो समय हलेसी झिलिमिली बनेको छ । उनले त्यो देख्न पाएका छैनन् । त्रिधार्मिक स्थल हलेसीदेखि गैरीगुठ पुग्न त्यति धेरै समय लाग्दैन । ‘हलेसी कस्तो बन्यो होला,’ उनी सम्झन्छन्, ‘त्यतिबेला हलेसीमा चढाइएका गाई, गोरु हेर्ने गोठाला बसेको सम्झनाले चिमोटिरहन्छ ।’

सम्झना–६

हिजोआज गाउँघरमै यातायात साधन गुड्छन् । आँखाले ठम्याउन नसके पनि उनले यातायात साधन गुडेको प्रस्टै सुन्छन् । ‘त्यतिबेला,’ उनले भने, ‘भारी बोक्न उदयपुरको कटारीदेखि सिरहाको मिर्चैयासम्म पुगेका थियौं । त्यहीं हो यातायात साधन देखेको । तर, हिजोआज गाउँमै गुडेको यातायात साधन देख्न सक्दिनँ ।’

सम्झना–७

हातपाउ चल्दा घर छाडेर मधेससम्म पुगेको उनले बिर्सेका छैनन् । मधेस किन झर्नुभएको त ? ‘आरा (काठ) काट्न,’ उनले बताए, ‘मधेससम्म पुगेर आरा काट्दा साथीहरू बिसाउनमात्रै खोज्थे । म भने छिटोछिटो काम सकाउन खोज्थें ।’

गएको भदौ ५ गते १०० वर्ष पुगेका ज्येष्ठ नागरिक हस्तबहादुर राईलाई नगरले २५ हजार रुपैयाँसहित सम्मान गरेको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान वडाध्यक्ष चइन्द्र राईले जानकारी गराए । ‘सम्मान कार्यक्रममा उहाँ उपस्थित हुन सक्नुभएन । प्रमाणपत्र आफन्तलाई पठाइदिएका हौं,’ वडाध्यक्ष राईले भने, ‘२५ हजार रुपैयाँ निकासा हुन बाँकी छ ।’

हिँडडुल गर्न नसक्ने भएपछि उनले पाउने वृद्धभत्ता गाउँकै जयबहादुर राईमार्फत हात लगाइन्छ । हात परेको वृद्धभत्तासमेत उपयोग गर्न नपाएको उनले गुनासो गरे । गाउँकै आफन्तको नाम लिँदै फलानाले यति, फलानाले उति पैसा लगेको छ भन्दै उनले हात भाँचे ।

वृद्धभत्ताले खान नपुगे पनि टेकोपिरो हुन्थ्यो । तर, ढुंगाको मन हुने घरभित्रैकाले वृद्धभत्तामा समेत गिद्धेदृष्टि लगाएपछि कसको के लाग्छ र । छिमेकीले रात दिन हेर्न सक्ने कुरा भएन । उनलाई कसले खान दिन्छन् । कसले लगाउन दिन्छन् । कसरी बाँचिरहेका छन् भनेर छिमेकी नै तीनछक परेका छन् ।

मंसिर लागिसकेको छ । चिसो बढ्दै गएको छ । घामपानीबाट ओतिने घर त छ । घरभित्र अँगेनाछेउमा गुन्द्री ओछ्याएर रातभरि चिसिनुको पीडा भोग्नेलाई मात्रै थाहा छ । एउटा पलङसम्म नहुनुको पीडा कसले बुझिदिने । गुन्द्री ओछ्याएर पातलो सिरक ओढेर निदाउन खोजे पनि निद्रा लाग्दै लाग्दैन । निद्रा लागेन भनेर दुःख साट्नलाई कोही छैनन् ।

एउटै आमाका पाँच दाजुभाइमध्ये हस्तबहादुरमात्रै जीवित छन् । ‘कसैले खीर ल्याइदिन्छन्,’ स्वाँ–स्वाँ गर्दै उनले वास्तविकता बताए, ‘कसैले सातु ल्याइदिन्थे । त्यसले पनि सास फेर्न सघाएको थियो ।’ बैंसमा एक मानाको खाना खान्थें भन्ने उनी हिजोआज ठोसभन्दा तरल पदार्थ खान मन पराउँछन् ।

मलाई माया गर्ने कोही छैनन् भन्ने उनले कसैले जाँड, कसैले रक्सी ल्याइदिन्छन् भन्दा माया गर्ने पनि छन् भन्ने बुझ्न सकिन्छ । कसैले ल्याइदिएको भरमा मात्रै बाँच्न सजिलो छैन । ज्येष्ठ नागरिक भनेको पुस्तकालय हुन् । पुस्तकालयबाट ज्ञानगुनका कुरा सिकिन्छ । ज्येष्ठ नागरिकलाई पनि पुस्तकालयभन्दा कम आँक्न मिल्दैन । त्यसो हो भने त्यस्ता पुस्तकालयको संरक्षण तथा सम्बद्र्धन गर्न सम्बन्धित परिवारका छोराछोरी र स्थानीयस्तरबाट पहल गर्दा हुन्थ्यो कि ?

(नवीन चाम्लिङ राई र कृष्ण कृतिको सहयोगमा)


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV