गुट्खामा साढे ३६ करोड राजस्व छली « Nagarik Khabar

गुट्खामा साढे ३६ करोड राजस्व छली



काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१४ मा रहेको साकम्बरी प्रोडक्टका सञ्चालकसहितको मिलेमतोमा गुट्खाजन्य मालवस्तुमा ३६ करोड रुपैयाँभन्दा बढीको राजस्व छली गरेको पाइएको छ ।

अनुसन्धानमा उक्त कम्पनीका सञ्चालक मुकेश शर्मा, रामकृष्ण शर्मालगायत छ जनाको मिलेमतोमा ३६ करोड ५४ लाख रुपैयाँ बिगो बराबरको राजस्व छली गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ । साकम्बरी प्रोडक्टले उत्पादन गरेको अवैध गुट्खाजन्य मालवस्तु माधव इन्टरप्राइजेजसमेतको संलग्नतामा अन्तःशुल्क स्टिकर नलगाई कानून बमोजिम बुझाउनुपर्ने अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र आयकरसमेत नबुझाई बिक्री वितरण गरेको पाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

उक्त घटनामा साकम्बरी प्रोडक्टका सञ्चालक मुकेशसहित रामकृष्ण, सुपरभाइजर सदनसिंह तथा माधव इन्टरप्राइजेजका सञ्चालक सीताराम शर्मा तथा सवारी धनी आशिष शर्मा र विष्णुप्रसाद खरेकोसमेत मिलेमतो रहेको देखिएकाले उनीहरु विरुद्ध मुद्दा चलाइएको उनले जानकारी दिए । यही मंसिर १ गते बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षको कैद सजाय माग दाबीसहित उनीहरुविरुद्ध जिल्ला अदालत झापामा मुद्दा दर्ता गरिएको विभागले सोमबार एक विज्ञप्तिमार्फत जनाएको छ ।

नक्कली बीजक प्रयोग गरी राजस्व छली

मूल्य अभिवृद्धि करको झुट्टा तथा नक्कली बीजकको प्रयोग गरी राजश्व छल्ने तीनजना विरुद्ध राजश्व अनुसन्धान विभागले अर्को मुद्दा चलाएको छ ।

उनीहरुले एक करोड ७४ लाख २१ हजार रुपैयाँ बिगो बराबरको राजस्व छलेको अनुसन्धानबाट खुलेको छ । उनीहरुविरुद्ध बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबी गरेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको विभागले सोमबार एक सूचना जारी गरी जनाएको छ ।

गोरखा हङसपुर घर भई काठमाडौँ महानगरपालिका–३२ बस्ने अम्बेल इन्टरप्राईजेजका सञ्चालिका विनिता दुवाडीले एक करोड २९ लाख, काठमाडौँकै सुसज्जित इन्टरप्राइजेजका सञ्चालिका सरस्वती गौतम र श्रीमान् रामशरणले ४५ लाख ४५ हजार रुपैयाँ बिगो बराबरको राजस्व छली गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो ।

उनीहरुलाई बिगो बराबरको दोब्बर जरिवाना र तीन वर्ष कैद सजायको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: