राजपा र समाजवादी एकता : हुन्छ कि हुँदैन ? « Nagarik Khabar

राजपा र समाजवादी एकता : हुन्छ कि हुँदैन ?



काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) र सत्ता साझेदार दल समाजवादी पार्टीबीचको एकीकरण अनिश्चित बनेको छ ।

समाजवादीको सम्पन्न संघीय परिषद् र केन्द्रीय समिति बैठकले संघीय सरकार नछोड्ने निर्णय गरेसँगै राजपासँगको एकता अनिश्चित बनेको हो ।

शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा राजपा नेपालसँग एकीकरण गर्ने विषयमा चर्चा भएन । संघीय सरकारमै बस्ने निष्कर्ष निकाल्दै बैठकले सरकार नछोड्ने निर्णय गरेपछि राजपा नेताले समाजवादीसँग एकता नगर्ने बताएका छन् ।

राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले अहिलेकै अवस्थामा पार्टी एकीकरण नहुने बताए । आफू निकटका नेतासँग ठाकुरले सरकार छोड्ने निर्णय समाजवादीले नगरेकाले एकता पनि नहुने बताए ।

‘पार्टी एकताअघि नै सरकार छोड्ने हामीबीच अनौपचारिक सहमति भएको थियो तर समाजवादी पार्टीको बैठकले सरकार नछोड्ने भएपछि अहिलेकै अवस्थामा एकता असम्भव छ,’ ठाकुर निकट एक नेताले भने, ‘सरकार पनि नछोड्ने र एकता पनि गर्ने कुरा मान्य छैन । एकताअघि सरकार छोड्नुपर्छ ।’

राजपा नेपालका उपमहासचिव सञ्जय यादवले पार्टी एकताअघि सरकार छोड्ने सहमतिअनुसार समाजवादीको निर्णय नआएकाले अहिलेकै अवस्थामा एकता नहुने बताए ।

एकताका लागि भएको छलफलमा सरकार छोड्ने सहमति भएको खुलासा गर्दै उनले सरकारमै बसिरहने समाजवादीसँग अहिलेकै अवस्थामा एकता नहुने निश्चित भएको बताए ।

आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: