नेसनल मेडिकल कलेजमा सम्पत्ति सुद्धिकरणको ९ घण्टा छापा « Nagarik Khabar

नेसनल मेडिकल कलेजमा सम्पत्ति सुद्धिकरणको ९ घण्टा छापा



काठमाडौं । वीरगन्ज–१५ भेंडियाहीस्थित नेसनल मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ ।

मेडिकल कलेजको आय तथा सम्पत्तिसँगै त्यसका सञ्चालकको सम्पत्ति छानबिन गर्न विभागको ३ सदस्यीय टोली आइतबार सो कलेजमा छापा मार्न आइपुगेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिएका हुन् ।

विभागबाट आएको टोली मेकिडल कलेजमा दिउँसो १ बजे नै छिरेको थियो । पर्सा प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार आइतबारै राति साढे ९ बजे टोली त्यहाँबाट निस्किएको थियो ।

९ घण्टे छापामा टोलीले कलेजसँग विभिन्न कागजात झिकाएर अध्ययन गरेको थियो । विभागका अधिकृतहरूको सो टोलीले मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीको कार्यकक्षमै कागजात र फाइल झिकाएर अनुसन्धान गरेको कलेज स्रोतले जनाएको छ ।

सो क्रममा मेडिकल कलेजका चार्टर्ड एकाउन्टेन्टलाई समेत विभागको टोलीले उपस्थित गराएर सोधपुछ गरेको बताइएको छ ।

मेडिकल कलेजहरूले विद्यार्थीबाट सरकारले तोकेभन्दा बढी रुपैयाँ विभिन्न शुल्कको नाममा असुलेको भनेर खबर आइरहेकाले विभागको टोलीले छापा मारेको हो । केही साताअगाडि नेसनल मेडिकल कलेजमा विद्यार्थीले यसविरुद्ध प्रदर्शन गरेपछि कलेज प्रसाशनले बाउन्सर लगाएर आन्दोलनरत विद्यार्थीउपर दमन गराएको आरोप लागेको थियो ।

विभागको टोलीले शुल्कसम्बन्धी फाइल पनि झिकाएर अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ ।

आजको नागरिक दैनिकमा रितेश त्रिपाठीले वीरगन्जबाट यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: