अमेरिकासँगको वार्ता पन्छाउँदै किमले भने– ट्रम्पसँग बेमतलब वार्ता गर्न रुची छैन « Nagarik Khabar

अमेरिकासँगको वार्ता पन्छाउँदै किमले भने– ट्रम्पसँग बेमतलब वार्ता गर्न रुची छैन



एजेन्सी । उत्तर कोरियाले अमेरिकासँग थप वार्ताका लागि आफू तयार नभएको जनाएको छ । यसले उत्तर कोरियाको परमाणु निःशस्त्रीकरणको सम्भावनालाई ‘झट्का’ दिएको विश्लेषणहरु भएका छन् ।

उत्तर कोरियाका सर्वाेच्च नेता किम जोन उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तीन पटकसम्म वार्ता भएको थियो । तर, ती वार्ताहरुले ठोस परिणाम निकाल्न सकेनन् ।

सोही कारण उत्तर कोरियाले अमेरिकासँगको वार्तालाई बेमतलबको भनिदिएको छ । सोमबार उत्तर कोरियाका वरिष्ठ अधिकारी ग्वानले किमले ट्रम्पसँगको बेमतलबको वार्ताका लागि रुची नराखेको स्पष्ट पारिदिएका छन् । ग्वानको यो भनाइ उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसिएनएद्वारी जारी गरिएको थियो ।

विश्लेषकका अनुसार उत्तर कोरियाको यो पछिल्लो प्रतिक्रिया आइतबार ट्रम्पले गरेको एक ट्विट्प्रति लक्षित छ, जसमा उनले उत्तर कोरियाली नेतालाई छिट्टै केही गर्न भनेका थिए । ट्रम्पले सो ट्विटमा भेटवार्ताको सम्भावनालाई पनि देखाएका थिए ।

कतिपय विश्लेषकले भने अमेरिकाको आगामी निर्वाचन अगावै ट्रम्पले उत्तर कोरियासँगको समस्या समाधान गर्न चाहेको उल्लेख गरेका छन् । यसो गरेर आफ्नो विदेश नीतिको सफलता दर्साउने ट्रम्पको मनासाय भएको तर, त्यसलाई उत्तर कोरियाले इन्कार गरिदिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले विश्लेषण गरेका छन् ।

उता उत्तर कोरियाले भने आफूलाई लामो समयसम्म वार्ता जारी राख्न कुनै रुची नभएको प्रतिक्रिया दिएको छ । ग्वानले आफूहरुलाई कुनै पनि निस्कर्ष ननिस्कने वार्ता लामो समयसम्म जारी राख्न कुनै रुची नभएको बताए । उनले उत्तर कोरियाले केही पनि नपाउने हो भने आफूहरुसँग अमेरिकाले गर्व गर्नेगरी ट्रम्पलाई दिनका लागि पनि केही नभएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: