गाउँपालिकाले निःशुल्क बीमा गरिदिएपछि चौरी पालक किसान उत्साही « Nagarik Khabar

गाउँपालिकाले निःशुल्क बीमा गरिदिएपछि चौरी पालक किसान उत्साही



मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण चौरीको बीमा गरेको छ । गाउँपालिकाको यो निर्णयबाट चौरीपालक किसान उत्साहित भएका छन् ।

वर्षको नौ महिनाभन्दा बढी समय खर्कमा चौरी चराउने वडा नं २ का पेम्बा शेर्पाले चौरी मर्दा हुने जोखिम कम हुने भएपछि खुशी भएको बताए ।

गाउँपालिकाभित्रका फिरन्ते चौरी गोठलाई लक्षित गर्दै खर्क र गोठमा पालिएका सबै चौरीको निःशुल्क बीमा योजना अघि बढाइएको हो । सरकार र किसानको संयुक्त लगानीमा पशु बीमाअन्तर्गत किसानले तिर्नुपर्ने बीमाङ्क गाउँपालिकाले उपलब्ध गराउनुपर्ने भएको छ ।

पचहत्तर प्रतिशत सरकारी अनुदान र २५ प्रतिशत किसान स्वयंको लगानीमा बीमा कार्यक्रम आधारित छ ।

तर, गाउँपालिकाले किसानलाई चौरीपालनमा सक्रिय बनाउन उक्त २५ प्रतिशत आफैँ तिर्ने भएपछि किसानलाई निःशुल्क चौरी बीमाको अवसर मिलेको हो । गाउँपालिकाको निर्णयअनुसार हाल १६ गोठमा रहेका चार सय बढी चौरीको निःशुल्क बीमा गरिएको छ । बीमा कार्यक्रमले चौरी खरीददेखि पालनमा खर्च गरिएको लगानी सुरक्षित बनाएको छ ।

बीमा कार्यक्रमले चौरी खरीददेखि पालनमा खर्च गरेको लगानी सुरक्षित बनाएको स्थानीय चौरीपालक किसान साङ्गे शेर्पाले बताए । एक लाख बढी मूल्य पर्ने चौरी मर्दा किसानले व्यहोर्नुपर्ने घाटाबाट बीमा कार्यक्रमले मुक्ति मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: