व्यास नगरपालिकाले काठका पोल हटाउँदै « Nagarik Khabar

व्यास नगरपालिकाले काठका पोल हटाउँदै



तनहुँ । तनहुँको व्यास नगरपालिकाले नगरक्षेत्रभित्र रहेका काठका जीर्ण पोल विस्थापन गर्ने भएको छ । काठका पोलले जोखिम बढाएपछि नगरपालिकाले त्यस्ता पोललाई हटाएर स्टिलका पोल राख्ने भएको हो ।

चौध वडा रहेको नगरपालिकाभित्र काठका पोलको तथ्याङ्क सङ्कलन गरेर स्टिल पोल राख्ने अभियान शुरु गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । काठका पोल विस्थापनका लागि नगरपालिकाले १४ वडालाई पहिलो चरणमा ४५ का दरले स्टिलका पोल उपलब्ध गराएको उनले जानकारी दिए ।

नगरपालिकाले उपलब्ध गराएका स्टिलका पोल वडामार्फत वितरण गर्न शुरु गरिएको वडा नं ७ का अध्यक्ष शतिश न्यौपानेले जानकारी दिए । वडाभित्र बढी जीर्ण रहेका काठेपोल विस्थापनलाई पहिलो प्राथमिकतामा राखेर नगरपालिकाबाट उपलब्ध भएका ४५ स्टिलका पोल टोल विकास संस्थामार्फत वितरण गरिसकिएका उनले बताए ।

‘प्राथमिकताका आधारमा टोल विकास संस्थामार्फत पहिलो चरणमा उपलब्ध भएका पोल वितरण ग¥यौँ’, वडाध्यक्ष न्यौपानेले भने, ‘बाँकी ठाउँमा पनि विस्तारै उपलब्ध गराउँदै जाने रणनीति छ ।’ एकैपटकमा सबै ठाउँमा स्टिलपोल वितरण गर्न सम्भव नभएकाले प्राथमिकताका आधारमा काठेपोल फेरिने उनले बताए । काठका पोल कुहिँदा, जीर्ण हुँदा दुर्घटना हुने सम्भावना रहने भएकाले पहिलो चरणमा त्यस्ता ठाउँका काठेपोल विस्थापन गरिने न्यौपानेले बताए ।

वडा कार्यालय भवन निर्माण

यसैबीच उक्त नगरपालिकाको वडा नं ७ को नयाँ भवन निर्माण सम्पन्न गरिएको छ । सबै वडा कार्यालयका आफ्नै भवन निर्माण गर्ने नगरपालिकाको नीतिबमोजिम केही दिनअघि सो वडाको भवन निर्माण सम्पन्न गरिएको हो ।

नयाँ भवनबाट छिट्टै कार्यालय सञ्चालन गर्ने तयारी थालिएको वडाध्यक्ष न्यौपानेले जानकारी दिए । रु ५२ लाखको लागतमा निर्माण सम्पन्न भएको भवनमा अध्यक्ष र सचिवको कार्यकक्ष, एक सभाहल तथा एक सोधपुछ कक्ष रहेको छ । भवन निर्माण सम्पन्नपछि सेवा प्रवाहमा सहज हुने न्यौपानेले बताए । वडा कार्यालय हाल निजी व्यक्तिका घरमा दुई कोठा भाडा लिएर सञ्चालनमा छ । रासस

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: