यी हुन् तीन महिनामा एक अर्बभन्दा बढी नाफा गर्ने बैंक « Nagarik Khabar

यी हुन् तीन महिनामा एक अर्बभन्दा बढी नाफा गर्ने बैंक



काठमाडौं । वाणिज्य बैंकहरुले चालु अर्थिक वर्षको तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । तीन महिनामा २८ वाणिज्य बैंकमध्ये तीन बैंकले एक अर्ब रुपैयाँभन्दा बढी खुद नाफा गरेका छन् ।

सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंक र निजी स्वामित्वको नबिल बैंक र एनआइसी एसिया बैंकले एक अर्ब रुपैयाँभन्दा बढी खुद नाफा गरेका हुन् । धेरैजसो बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासभन्दा चालु आवको सोही अवधिमा नाफा बढाएको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । ब्याज‚ आम्दानी र विदेशी मुद्राको कारोबारबाट भएको आम्दानीले नाफा बढेको बताइएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकले नाफा गरेको छ । उसले १ अर्ब १२ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा उक्त बैंकले १ अर्ब ११ करोड ९० लाख रुपैयाँ नाफा गरेको थियो । यस्तै, दोस्रोमा नबिल बैंकले १ अर्ब १२ करोड ३५ लाख रुपैयाँ नाफा गरेको छ । उक्त बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५ करोड २४ लाख रुपैयाँ नाफा गरेको थियो।

तेस्रोमा एनआइसी एशियाले एक अर्ब ९६ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा गत वर्षभन्दा करिब २५ करोड रुपैयाँ बढी हो । नेपाल इन्भेष्टमेन्ट बैंक चौथौ धेरै नाफा कमाउने बैंक हो । इन्भेष्टमेन्टले ८४ करोड ४४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमासमा उसले एक अर्ब पाँच करोड ४६ लाख रुपैयाँ नाफा गरेको छ । यद्यपि‚ बैंकको नाफा गत वर्षभन्दा उच्च दरले घटेको छ ।

एनएमबी बैंक पाँचौ धेरै नाफा कमाउने बैंक बनेको छ । एनएमबीले गत वर्षको सोही अवधिभन्दा २६ करोड ४६ लाख रुपैयाँ बढी नाफा गरेको छ । एनएमबीले  चालु आवको तीन महिनामा ८१ करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा उसले ५५ करोड ५ लाख रुपैयाँ नाफा गरेको थियो । 

चालु आर्थिक वर्षको तीन महिनामा पुरानाभन्दा नयाँ बैंकहरुले बढी नाफा कमाएका छन् । निक्षेप र लगानी दुवै वृद्धि भएकाले बैंकको नाफा पनि बढ्न पुगेको बैंकर्सहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: