उदयपुरको बेलकामा प्रहरी र स्थानीयबीच झडप, तीन प्रहरीसहित सात घाइते « Nagarik Khabar

उदयपुरको बेलकामा प्रहरी र स्थानीयबीच झडप, तीन प्रहरीसहित सात घाइते



काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा प्रहरी र स्थानीयबीच झडप भएको छ । वडा नम्वर ४ को सिसुवा खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थको विषयमा विवाद हुँदा झडप भएको हो ।

झडपमा तीनजना प्रहरी, तीन जना स्थानीय र एकजना टिपर चालक घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुने प्रहरीमा नरबहादुर कार्की, तुलसी कार्की र पदमबहादुर राई रहेका छन् । चालक गोगेन मण्डल रहेको प्रहरीले जनाएको छ । स्थानीयहरुले घरको छतबाट बियरका बोतल, ढुंगामुढा प्रहार गरेको प्रहरीले बताएको छ ।

स्थानीयहरुले सिसुवा खोलाबाट उत्खनन् गरी ढुंगा, गिट्टी र बालुवा ल्याउँदै गरेको २० वटा टिपर र एउटा स्काइभेटर केही दिनअघिदेखि रोकेका थिए । रोकिएका टिपर खुलाउन खोज्दा प्रहरी र स्थानीयबीच झडप भएको उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।

‘सर्वसाधरण र प्रहरीबीच झडप हुँदा तीन प्रहरी र अन्य स्थानीय घाइते भएका छन,’ उनले भने, ‘तर, सर्वसाधरणले प्रहरीले गोलीनै हानेको प्रचारप्रसार गरेर हल्ला गरेका छन् । तर, गोली चलेको होइन, अश्रुग्याँस मात्र प्रयोग गरेका हौँ ।’

स्थानीयले रोकेको टिपर र स्काभेटलाई सुरक्षित स्थानमा लैजान प्रहरीले बल प्रयोग गर्दा मंगलबार बिहान करिब ५ बजे झडप भएको थियो । प्रजिअ खड्काले बेलकाको रामपुर लालबजार क्षेत्रमा केही दिनदेखि सर्वसाधरणले अवैध रुपमा नदीजन्य पदार्थ उत्खन्न गर्दै आएको भन्दै विरोध गर्दै आएको बताए ।

‘सर्वसाधरणहरुले विरोध गर्दै त्यस क्षेत्रमा टिपरहरु रोकेर राखेका थिए,’ नागरिक खबरसँगको कुराकानीमा प्रजिअ खड्काले भने ।

६ दिन अघिदेखि मापदण्ड विपरीत नदीजन्य पदार्थ संकलन गरेको भन्दै लालबजारका स्थानीयहरुले २० वटा टिपर र एउटा स्काभेटरलाई नियन्त्रणमा लिएका थिए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले स्थानीयले मापदण्ड विपरीत नदीजन्य पदार्थ संकलन गरेको भने पनि मापदण्ड पु¥याएर नै संकलन गरेको पाइएको बताए । ‘स्थानीय र केही अगुवा नेताहरुको नेतृत्वमा ढुंगा, गिट्टी, बालुवा बोकेका टिपरहरु रोकिएका थिए,’ उनले भने, ‘हामीले हेर्दा सवै मापदण्ड पूरा गरेका थिए, तिनै रोकिएका टिपर खुलाउँदा झडप भएको हो ।’

नगरपालिकाले गत भदौमा बोलपत्र आह्वान गरी बढी मूल्य कबोल गर्ने विपी कन्स्ट्रक्सनसँग ३ करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको थियो । सम्झौतामा नगरपालिकाको १० वटा खोलाबाट १ लाख २१ हजार ७८० घनमिटर ढुंगा, गिट्टी उत्खन्न गर्ने उल्लखे छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: