मन्त्रिपरिषद् पुनर्गठन नहुनुमा यस्तो छ कारण: भोलि सचिवालय बैठक


SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच मन्त्रिपरिषद् पुनर्गठनमा विवाद देखिएको छ । पुनर्गठनमा पर्ने मन्त्रीको नाम र सभामुखका विषयमा दुई अध्यक्षबीच कुरा नमिलेको बालुवाटार स्रोतले जनाएको छ ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच सोमबार बेलुकी भएको भेटवार्तामा पाँचजना मन्त्री हटाउने विषयमा प्रस्ताव आएको थियो । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको उक्त प्रस्तावमा प्रचण्डले असन्तुष्टि जनाए ।

ओलीले पूर्वएमालेबाट तीनजना र पूर्वमाओवादीबाट दुईजना मन्त्री फेर्ने प्रस्ताव प्रचण्डसामु राखेका थिए ।

मन्त्री पुनर्गठनमै प्रचण्डको असन्तुष्टि

प्रधानमन्त्रीसमेत रहेका ओलीबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव फेर्ने प्रस्ताव आएको थियो ।

ओलीको प्रस्तावमा असन्तुष्टि जनाउँदै प्रचण्डले एक दुईजना मन्त्री फेर्दैमा कामले गति नलिने बताएका थिए । स्रोतकाअनुसार उनले ठूला र प्रभावकारी मन्त्रालयको हेरफेर नगरेसम्म एक दुईजनालाई परिवर्तन गरेर मात्र कामले गति लिन नसक्ने अडान राखे ।

ओलीले अहिलेलाई पाँचजनाको मात्र नाम प्रस्ताव गरेपछि प्रचण्डले असन्तुष्टि जनाए । ओलीको प्रस्ताव प्रचण्डले नमानेपछि सोमबार गर्ने भनिएको मन्त्रिपरिषद् पुनर्गठन पर धकेलिएको छ । आइतबार सम्पन्न नेकपा सचिवालय बैठकले प्रचण्डसँगको परामर्शमा मन्त्रिपरिषदको पुनर्गठन गर्ने जिम्मेवारी ओलीलाई दिएको थियो ।

सभामुखमा नेम्बाङ

प्रधानमन्त्री ओलीले सभामुखका लागि पूर्वसभामुख एवं नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङको नाम प्रस्ताव गरेका छन् । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे नातेदार भएकाले नेम्बाङबाहेक अरुलाई नछाड्ने अडानमा रहेको ओलीले प्रचण्डलाई सुनाए ।

तर, प्रचण्डले भने पूर्वमाओवादीले सभामुख पाउनुपर्ने अडान राखेका छन् । स्रोतकाअनुसार सभामुख कसलाई बनाउने भन्नेमा चर्को मतभेद भएका कारणले पनि मन्त्रिपरिषद् पुनर्गठनमा समस्या निम्तिएको छ ।

ओलीले जम्मा पाँचजना मन्त्री फेर्ने प्रस्ताव राखेका छन् भने प्रचण्डले सबै जनाको पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन् । काम गर्न समस्या भएको भन्दै ओलीले सभामुख आफ्ना विश्वासपात्र नेम्बाङलाई बनाउन खोजका छन् । तर‚ पूर्वमाओवादीबाट सभामुख हुनुपर्ने अडान प्रचण्डको छ ।

अध्यक्षको कार्यविभाजनमा सहमति

सिंगापुरमा उपचारका लागि जाने समयमा सहमति भएअनुसार पार्टीको जिम्मेवारी पूर्णरुपमा प्रचण्डलाई दिन ओली सकारात्मक भएका छन् । यो विषयमा अध्यक्षद्वयबीच सहमति भैसकेको एक सचिवालय सदस्यले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई सरकारमा बलियो बनाउने प्रस्ताव पनि प्रचण्डसँग गरेका स्रोतको भनाइ छ । यसमा प्रचण्ड मौन छन् । तर‚ माधवकुमार नेपाल र प्रस्तावित उपाध्यक्ष वामदेव गौतम भने पोखरेललाई बलियो बनाउने विषयमा असन्तुष्ट रहेका छन् ।

बुधबार सचिवालय बैठक

अध्यक्षद्वयमा कुरा नमिलेपछि बुधबारका लागि फेरि सचिवालय बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले मन्त्रिपरिषद् पुनर्गठन, अध्यक्षको कार्यविभाजन, प्रधानमन्त्री ओलीको स्वास्थ्यलगायतका सबै विषयमा निर्णय गर्ने एक सचिवालय सदस्यले बताएका छन् ।

सचिवालय बैठकमा सहमति भएपछि मात्र अब मन्त्रिपरिषद् पुनर्गठन हुनेछ । बिहीबारसम्ममा मात्र मन्त्रिपरिषद् पुनर्गठन हुने एक सचिवालय सदस्यले नागरिखबरलाई जानकारी दिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV