पाल्पाली ढाकाको विकासका लागि व्यवसायीहरु एकजुट « Nagarik Khabar

पाल्पाली ढाकाको विकासका लागि व्यवसायीहरु एकजुट



पाल्पा । नेपालमा ढाका टोपी उत्पादनबाट सुरु भएको पाल्पाली ढाकाले देश विदेशमा नाम कमाए पनि पछिल्लो समय उत्पादनमा समस्या देखिएको छ । लामो समयदेखि मन्द गतिमा चलेको पाल्पाली ढाकाले पुर्नजीवन पाउने भएको छ ।

व्यवसायीहरुको पहलमा तथा प्रदेश सरकार र तानसेन नगरपालिको सहयोगमा पाल्पाली ढाकाले पुर्नजीवन पाउन लागेको हो। पाल्पाली ढाकाको नाममा आयातित ढाकाले अधिकांश बजार कब्जा गरे पछि स्थानीय उत्पादनमा नराम्ररी प्रभाव परेको व्यवसायीहरु बताउछन् । ढाका उत्पादन र बजारीकरणमा स्थानीय र प्रदेश सरकारको चासो पछि व्यवसायीहरु उत्साहित भएका हुन् ।

जिल्ला घरेलु कार्यालयको तथ्यांकमा २० वटा ढाका उद्योग दर्ता भई सञ्चालन भएकोमा हाल ८ वटा उद्योग मात्र सञ्चालनमा रहेका छन् । ती उद्योगहरु पनि न्युनतम क्षमतामा सञ्चालनमा रहेको कार्यालयको तथ्यांकले देखाउँछ । दक्ष कामदार नपाउनु पाल्पाली ढाका उद्योगको प्रमुख समस्या हो ।

स्थानीय सरकारकोे प्रतिवद्धता

तानसेन नगरपालिकाले यसै वर्षको बजेट तथा कार्यक्रम मार्फत पाल्पाली ढाका प्रर्वधन र विकास गर्ने भएपछि ढाका व्यवसायी उत्साहित भएका हुन् । नगरपालिकाले पाल्पाली ढाका आफैमा एउटा ब्राण्ड भइसकेकोले यसको संरक्षण र प्रवर्धनका गर्न व्यवसायीहरु सँग सहकार्य गर्न लागेको नगर प्रमुख अशोक कुमार शाहीले बताए ।

नगरपालिकाले पाल्पाली ढाकाको ब्राण्डेड तथा स्थानीय उत्पादनको आधिकारीक विक्रि कक्ष स्थापना गर्न आवश्यक बजेट समेत विनियोजन गरेको प्रमुख शाहीले बताए । व्यवसायमा देखिएको कामदारको समस्या समाधानका लागि समेत नगरपालिकाले योजनाबद्ध हिसाबले शिप विकास तालिमको व्यवस्था गर्ने प्रमुख शाहिले जानकारी दिए ।

प्रदेश सरकारको अग्रसरता

५ नं प्रदेश सरकारले पाल्पाली ढाकाको प्रवर्धन र विकासका लागि कार्य गरि अगाडि बढ्न व्यवसायीहरुसँग छलफल गरेको छ । पाल्पाली ढाका प्रदेश ५ कै आयात प्रतिस्थापन गर्ने उद्योगको रुपमा अगाडि लैजान सकिने भन्दै यसको विकासमा साथ दिने बताएको हो । रोजगारी सिर्जना पनि प्रदेश सरकारीको प्राथमिकता भएको भन्दै पाल्पाली ढाकाले देश विदेशमा समेत बजार बनाई सकेको बताए । प्रदेश सकारकारले ढाकाको अन्तर्राष्ट्रिय बजारको लागि वेभसाईटको निर्माण समेतमा सहयोग गर्न सकिने जानकारी दिएको हो ।

ढाका व्यवसायीहरुको प्रतिवद्धता

ढाकालाइ गाउँ गाउँ सम्म विस्तार गरि रोजगारी सिर्जना गर्ने र उत्पादनमा समेत बृद्धि गर्ने गरि काम गर्न ढाका व्यवसायीहरु सहमत भएका हुन् । पाल्पाली ढाकाको प्रवर्धन र विकास हामीले नै गर्ने हो भन्दै पाल्पामा ढाका उत्पादनका सुरुका अनुभव सुनाउदै व्यवसायी पुर्णदेवी महर्जनले भारतमा उत्पादित ढाकालाई पाल्पाली ढाकाको भन्दै बिक्री गर्दा नरमाईलो लाग्ने बताइन् । पाल्पाली ढाका संघ तदर्थ समितिका अध्यक्ष समेत रहेकी महर्जनले प्रदेश ५ सरकार तथा नगरपालिकाको सहयोगले ढाकालाई पुरानै र मौलिक उत्पादनमा सहयोग पुग्ने विश्वास व्यवक्त गरिन् । आफ्नो जीवन नै ढाका उद्योगमा बिताएको अनुभव सुनाउँदै पाल्पाली ढाका पाल्पामा सुरु गर्दाको समय निकै कठिन भएको र हालको समय पनि कठिन रहेको महर्जनको बुझाइ छ । सबै मिलेर काम गरे सफल हुनेमा महर्जनलाई विश्वास लागेको छ ।

पाल्पाली ढाकाको माग

पाल्पाली ढाकाको माग नेपालमा मात्र नभई विदेश सम्म उत्तिकै रहेको व्यवसायी सागरमान महर्जनले बताए । हातले बुनेको ढाकाको मागको तुलनामा उत्पादन निकै कम रेहेकोले विदेशीहरुलाई समेत पुर्याउन नसकिएको उत्पादक महर्जनले बताए । पाल्पाली ढाका हातले बुन्नेलाई गाउँ गाउँमा विस्तार गर्ने र मेसिनबाट उत्पादन गरि आयात प्रतिस्थापन गर्नु पर्ने व्यवसायीहरुको सोच रहेको उपाध्यक्ष हरी रायमाझीले बताए ।

पाल्पाली ढाकाको नाममा विदेशमा उत्पादित ढाका विक्री भईरहेको प्रति व्यवसायीहरुले चिन्ता व्यक्त गरेका हुन् । पाल्पाली ढाका व्यवसायी संघले पाल्पाली ढाकाको मौलिक उत्पादनलाई बृद्धि गर्ने तथा विदेशी आयातलाई प्रतिस्थापन गर्न मिलेर काम गर्न लागेको संघका सचिव मनोज पौडेलले बताए । पाल्पाली ढाकाले कमाएको नाम र इज्जत कायम राख्न ढाका उद्यमीहरु संगठित भएका हुन् । ढाकालाई विदेश सम्म निर्यात गर्न वेबसाइटको निर्माण गरिने र यसको विविधिकरणको लागि फेसन डिजाइनरहरु सँग सहकार्य गर्ने कार्यक्रमहरु अगाडि बढेपछि उद्यमीहरु ढाकालाई अन्तर्राष्ट्रिय बजार सम्म पुर्याउन सकिनेमा ढुक्क देखिएका हुन् । सुरुमा टोपी उत्पादनबाट सुरु भएको ढाका हाल सारी, पछ्यौरा, व्याग, सुट, पर्स जस्ता उत्पादनमा प्रयोग भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: