काठमाडौं महानगरमा २० हजारका लागि एउटा सार्वजनिक शौचालय « Nagarik Khabar

काठमाडौं महानगरमा २० हजारका लागि एउटा सार्वजनिक शौचालय



काठमाडौं । सन् २०१३ देखि हरेक वर्ष नोभेम्बर १९ लाई विश्व शौचालय दिवको रुपमा मनाउने गर्दछ । नेपालमा पनि आज यो दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

यो ‘वर्ष शौचालयको पहुँचबाट कोही पनि बञ्चित हुन नपरोस्’ भन्ने नाराका साथ सातौं शौचालय दिवस मंगलबार विविध कार्यक्रम गरी मनाइयो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार शहरी क्षेत्रमा ३०० मिटरको अन्तरमा सार्वजानिक शौचालय हुनुपर्छ । यद्यपि, नेपालमा अधिकांश स्थान शौचालयविहीन छ । केहि स्थानमा भएका शौचालयहरु पनि फोहोर र दुर्गन्धित छ ।

सार्वजानिक शौचालय बनाउन र भएका शौचालयको व्यवस्थापन तथा सञ्चालनमा राजनीतिक इच्छाशक्ति नभएको यसक्षेत्रमा काम गर्दै आएका व्यक्तिहरुको गुनासो छ ।

काठमाडौ महानगरमा स्मार्ट शौचालय

काठमाडौ महानगरपालिकाले स्मार्ट शौचालय निर्माण गर्ने योजना बनाएको छ । गुठी नामक गैरसरकारी संस्थासँगको सहकार्यमा महानगरमा सार्वजनिक शौचायलहरुको अध्ययन अनुगमनपछि शौचालयको स्तरोन्नतिका साथै स्मार्ट शौचालय निर्माण कार्य सुरु गरिसकेको काठमाडांै महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

उपत्यकामा भएको अधिकांश सार्वजनिक शौचालयहरु व्यवस्थापनको अभाव छ । जसका कारण प्रयोगका लागि योग्य छैनन् । सार्वजनिक शौचालय सञ्चालन गर्न जिम्मा दिएका व्यक्तिहरुको लापारवाही साथै सर्वसाधरणले पनि सार्वजनिक शौचालयलाई अपनत्व ग्रहण नगरेकाले उपत्यकाभित्र रहेका सार्वजनिक शौचालयकहरुमा समस्या पैदा हुने गरेको प्रवक्ता डंगोलले बताए ।

हाल काठमाडौ महानगरपालिकाभित्र ४५ वटा सार्वजनिक शौचालय रहेका छन् । निजी क्षेत्रका दुईवटा घुम्ती शौचालय सञ्चालनमा रहेको महानगरले जनाएको छ । यद्यपि, यीमध्ये केही सञ्चालनमा नभएको र सञ्चालनमा रहेका पनि प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको महानगर आफंै स्वीकारेको छ ।

सञ्चालनको जिम्मा पाएका व्यक्तिहरुले शौचालयहरुलाई नै डेराको रुपमा प्रयोग गरेको र कतिपयले त्यहीँ व्यापार व्यवसाय गर्ने गरेको प्रवक्ता डंगोलले बताए ।

अर्को आर्थिक वर्षभित्र ५० वटा स्मार्ट शौचालय

काठमाडौ महानगरपालिकाले स्वयम्भुबाट स्मार्ट शौचालय निर्माण सुरु गरेको छ । यस कार्यलाई विश्व सम्पदा क्षेत्र र स्थान उपलब्ध विभिन्न स्थानमा बिस्तार गर्दै लाने योजना छ ।

सरकारले नेपाललाई खुला दिशामुक्त मुलुक घोषणा गरे पनि सबैको पहुँचमा शौचालय छैन । खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार ९० प्रतिशत जनसंख्यामा मात्र शौचालयको पहुँच रहेको छ । काठमाडौं महानगरपालिकाको एक अध्ययनअनुसार महानगरमा सरदर २० हजार २८८ जनाको लागि एउटा सार्वजनिक शौचालय उपलब्ध छ । ३२ वडा रहेको महानगरका १६ वडामा त सार्वजनिक शौचालय नै छैनन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: