८६ करोडमा बबरमहलको प्रबलीकरण हुँदै « Nagarik Khabar

८६ करोडमा बबरमहलको प्रबलीकरण हुँदै



काठमाडौं । भूकम्पले क्षतिग्रस्त राणाकालीन भवन बबरमहलको प्रबलीकरण सुरु भएको छ । गत असारमै सम्झौता भए पनि काममा ढिलाइ भइरहेको थियो ।

भवनमा रहेका कार्यालयहरूको सामान स्थानान्तरण गर्ने स्थान अभावमा काम ढिलाइ भएको प्राधिकरणले जनाएको छ । अहिले भवनमा रहेका कार्यालयका सामग्रीहरू राख्ने टहरा बनाई स्थानान्तरण गरिएको छ ।

प्रबलीकरण दुई वर्षमा सक्ने प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना उपनिर्देशक झप्परसिंह विश्वकर्माले बताएको समाचार शान्ति लामाको बाइलाइनमा गोरखापत्र दैनिकमा प्रकाशित छ ।

बबरमहल प्रबलीकरणको ठेक्का जिसी–आशिष–समानान्तर जेभीलाई दिइएको छ । निर्माण कम्पनीले ८६ करोड दुई लाख ५२ हजार रुपियाँको लागतमा प्रबलीकरण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

भूकम्पअघि बबरमहलमा सडक विभाग, महालेखा परीक्षक, गोश्वारा हुलाक, निर्वाचन आयोगका केही कार्यालय सञ्चालनमा थियो ।

हाल यी कार्यालयहरू अन्यत्र सरेका छन् । बबरमहलको प्रबलीकरणमा परम्परागत निर्माण सामग्रीहरू चुना, सुर्की, काठलगायत वस्तुको प्रयोग गरिने उपनिर्देशक विश्वकर्माले बताए ।

भवनको प्रबलीकरणसँगै सम्पूर्ण सुविधाको जडान गरी यसअघि बसिरहेका सम्बन्धित निकायहरूलाई नै प्रशासनिक उपयोगका लागि हस्तान्तरण गरिने उनले बताए । अहिले भएको बबरमहलको तीन तले भवन चन्द्र शमशेरले आफ्ना छोरा बबरशमशेरका लागि बनाएको इतिहासकारहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: