५ देखि १० मन्त्री फेरिँदै


SHARES

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलेको केही दिन भयो । यही कारण सरकारी कामसमेत प्रभावित भएपछि मन्त्रीहरूले नै मंगलबार मुख खोलेर सोधे, ‘प्रधानमन्त्रीज्यू, यथार्थ के हो ?’

‘हो,’ प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठकमा भने, ‘भोलि (बुधबार) कसैले कार्यक्रम नराख्नुहोला । चनाखो भएन, टाढा गयो, यता हेरफेर भयो भने मन्त्रीकै मर्यादाको पनि कुरा हुन्छ । त्यसमा तपाईंहरूले ख्याल गरिदिनुहोला ।’

यसले बुधबार मन्त्रिपरिषद् हेरफेर हुने बलियो सम्भावना देखाएको छ ।

‘मन्त्रिपरिषद् पुनर्गठनको धेरै पहिलेदेखि चर्चा भएको छ । यस विषयमा मैले पार्टी सचिवालय बैठकमा पनि भनेकै छु । सामान्य हेरफेर हुन्छ । हेरफेर भन्नेबित्तिकै सबै पर्ने कुरा आएन । कतिपय नयाँ साथीलाई अवसर दिन पनि यस्तो गर्नुपर्छ,’ प्रधानमन्त्रीले बैठकमा भनेको उधृत गर्दै एक मन्त्रीले भने, ‘कोही दोहोरिनुहोला, कोही बाहिरिनुहोला, अहिलेसम्म साथ दिनुभयो धन्यवाद । यसलाई अन्यथा नलिइदिनुहोला ।’

त्यसअघि मन्त्रीहरूले प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए, ‘मन्त्रिपरिषद् पुनर्गठनको विषय के हो ? यो हुन्छ कि हुन्न ? हुन्छ भने गरिहाल्नुपर्यो, हँुदैन भने पनि हुँदैन भनेर स्पष्ट पार्नुपर्ने भयो । बाहिर मान्छेहरूले मन्त्रीहरू आजका हुन् कि भोलिका भनेर प्रश्न गर्न थालिसकेका छन् । यसले राम्रो सन्देश गएको छैन ।’

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले एक चरणको सूची तयार पारेका छन् । उनी ५ देखि १० जनासम्म मन्त्री फेर्ने तयारीमा छन् ।

को–को फालिँदैछन् ?

मन्त्रिपरिषद् हेरफेर गर्दा प्रधानमन्त्रीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा र खेलकुदमन्त्री जगत विश्वकर्मालाई बिदाइ दिने तयारी छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, श्रममन्त्री गोकर्ण विष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, खानेपानीमन्त्री विना मगर, भूमिसुधारमन्त्री पदमा अर्याललाई पनि हटाउन छलफल भएको छ । तर पार्टीभित्र समीकरण मिलाउनुपर्ने भएकाले रहने र फालिने यकिन नभएको स्रोतले जनायो ।

महिलाको ठाउँमा महिला, मधेसीको ठाउँमा मधेसी, जनजातिका ठाउँमा जनजातिलाई नै ल्याउने तयारी प्रधानमन्त्रीको छ । यसका लागि उनले अर्का अध्यक्ष दाहालसँग सहमति लिएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार दिनभर बालुवाटारमा आकांक्षी मन्त्रीहरूसँग एकल तथा सामूहिक भेटघाट गरेका थिए । ओलीले क्याबिनेट हेरफेर गर्दा दोहोरिने केही बहालवाला मन्त्रीहरूको जिम्मेवारीमा समेत हेरफेर गर्न सक्ने स्रोतले बतायो ।

यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV