विकसित राष्ट्रले प्रतिवद्धता पूरा नगर्दा ऋणको चक्रमा अति कम विकसित देश


SHARES

काठमाडौं । विकास सहायता उपलब्ध गराउने देशहरूले प्रतिबद्धताअनुसार सहयोग नगरेपछि अतिकम विकसित देशहरू क्रमशः ऋणको चक्रमा फस्दै गएको पाइएको छ ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको व्यापार तथा विकास सम्मेलन (यूएनसीटीएडी)ले मङ्गलबार विश्वभर एकैपटक सार्वजनिक गरेको अति कम विकसित देशहरूको प्रतिवेदन, २०१९ ले सहुलियतपूर्ण सहायता घटाउँदा त्यस्ता देशमा ऋणको भार बढेको निष्कर्ष निकालेको हो ।

नेपालसहित विश्वका ४७ वटा अति कम विकसित देश ऋणको यस्तो चक्रबाट प्रभावित बनेको प्रतिवेदनमा उल्लेख छ । विश्वको कुल अर्थतन्त्रको एक प्रतिशत मात्र हिस्सा ओगट्ने यी देशलाई विकास सहायता उपलब्ध गराउने देशहरूले आफ्नो देशको कुल राष्ट्रिय आम्दानीको ०.१५ प्रतिशतदेखि ०.२ प्रतिशतसम्म सहायता उपलब्ध गराउने प्रतिबद्धता थियो ।

सन् २००५ मा जारी पेरिस घोषणापत्रमा उल्लेखित उक्त प्रतिबद्धताको कार्यान्वयन अवस्था कमजोर रहेको पनि प्रतिवेदनमा उल्लेख छ । विकास सहायता उपलब्ध गराउने देशले सहुलियतभन्दा ब्याजयुक्त ऋण उपलब्ध गराउन थालेपछि अति कम विकसित देश यस्तो चक्रमा फस्दै गएका हुन् ।

प्रतिवेदनले ऋणको यस्तो भार पछिल्लो पटक १४ प्रतिशतले बढेको उल्लेख गरेको छ । एकातर्फ प्रतिबद्धताअनुसार सहुलियत उपलब्ध नहुनु र अर्कोतर्फ त्यस्तो सहुलियत बिनादीर्घकालीन विकास लक्ष्य पूरा गर्न कठिन हुने विषम परिस्थितिको सामना अति कम विकसित देशहरूले गर्नुपरेको प्रतिवेदनको विश्लेषण छ ।

आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV