हुम्लामा हुने उपनिर्वाचनमा ११६ सुरक्षाकर्मी खटिए « Nagarik Khabar

हुम्लामा हुने उपनिर्वाचनमा ११६ सुरक्षाकर्मी खटिए



सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकामा यही मङ्सिर १४ गते हुनलागेको उपनिर्वाचनका लागि ११६ सुरक्षाकर्मी खटिएका छन् ।

खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमालको याङचुबगरमा गत असार ३ गते जिप दुर्घटनामा परी मृत्यु भएपछि उपाध्यक्ष पदका लागि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

जिल्लामा रहेका सुरक्षाकर्मीले नपुग्ने भएपछि सुरक्षालाई थप व्यवस्थित र निर्वाचनलाई मर्यादित बनाउन जिल्ला बाहिरबाट ११६ सुरक्षाकर्मी हुम्ला पुगेर सो गाउँपालिकामा खटाइएको सुरक्षा व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिइन् ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालयमा खाली कोटाका लागि माग गरिएको भए पनि ५० प्रहरी जवान पुगेका उनले बताइन् ।

यसैगरी सशस्त्र प्रहरी बलका ६६ सुरक्षाकर्मी सिमकोट पुगेका उनले जानकारी दिइन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ११६ जना जिल्ला सदरमुकाम पुगेर उक्त गाउँपालिकामा पठाइसकिएको भट्टराईले बताइन् । जिल्लामा पुगेका दुई सुरक्षा निकायका सुरक्षाकर्मी गाउँपालिकाका पाँच मतदान केन्द्रमा खटाइसकेको प्रजिअ भट्टराईले जानकारी दिइन् ।

उक्त गाउँपालिका सधैँ चुनावका समयमा बढी धाँधली हुनेमा गनिने भएकाले बढी सुरक्षाकर्मी खटाइएको हो । उपनिर्वाचनका लागि सो गाउँपालिकाका पाँच वडामा रहेका पाँचै मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: