रेमिट्यान्सले छोपिएको कहर : वैदेशिक रोजगारीमा मर्छन् दैनिक दुई नेपाली


SHARES

  • विदुर कटुवाल

काठमाडौं । केही दिनअघि पाल्पाको निस्ती गाउँपालिका–६, अर्चलेका यमबहादुर बयम्बु मगरको मलेसियामा मृत्यु भयो । बिरामी हुँदा उपचार नपाएर उनको मृत्यु भएको थियो ।

काठमाडौंको रिजा ओभरसिसमार्फत मलेसियाको जेराइ सेक्युरिटी सर्भिसेसमा पुगेका यमबहादुरले समयमै उपचार नपाउँदा ज्यान गुमाउनु पर्‍यो । यमबहादुरकी बहिनी कान्तिसराले दाजुको उपचारका लागि एक लाख २० हजार रुपैयाँ नातेदार पर्ने एजेन्टलाई दिए पनि कम्पनी र म्यानपावरले उपचार नगरेपछि मृत्यु भएको परिवारको दाबी छ ।

बिरामी परेका यामबहादुरलाई कम्पनीले सुरुमा बिरामीको नाटक गरेको भन्दै अस्पताल लगेन । हप्तौँपछि अस्पताल लगे पनि एपेन्डिसाइटिस भएको भन्दै शल्यक्रिया गरिएको थियो । उनको राम्रोसँग उपचारमा ध्यान नदिएकाले मृत्यु भएको मलेसियामा रहेका उनका साथीहरुको गुनासो छ ।

यसैगरी दुई वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको गत कात्तिक २२ गते मृत्यु भयो । मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएका बेला अचानक बेहोस भई मृत्यु भएको जानकारी आएको उनको परिवारले बताएको छ ।

वैदेशिक रोजगारीमा ज्यान गुमाउनेहरुमा सप्तरीका यादव र पाल्पामा मगर उदाहरण मात्र हुन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा गएर मृत्यु हुनेको संख्या उच्च छ । आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०७६/७७ को कात्तिक मसान्तसम्म करिब सात हजार ७२६ जनाको मृत्यु भएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए । उक्त संख्या बोर्ड स्थापना भएदेखि अहिलेसम्म मृत्यु भएबापत आर्थिक सहायता लिनेको हो ।

तथ्यांकअनुसार जापान, सिरिया, तान्जानिया, ओमान, कतार, कुवेत, दक्षिण कोरिया, मलेसिया, माल्दिभ्स, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, इजिप्ट, नाइजेरिया, भियतनाम, जर्मनी, टर्कीलगायतका देशमा नेपाली कामदारले ज्याउन गुमाउने गरेका छन् ।

वैदेशिक रोजगारीमा जानेमध्ये साउदी अरब, कतार, मलेसियालगायत खाडी मुलुकमा धेरै नेपालीको मृत्यु भएको छ ।

बर्सेनि बढ्दै

वैदेशिक रोजगार प्रवर्द्धन वोर्डको स्थापना भएको एक दशकसम्म सात हजार ७२६ जनाको मृत्यु भएको छ । जसको तथ्यांक आर्थिक वर्षअनुसार यस्तो छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा मार्ने नेपालीको संख्या बर्सेनि बढ्दै गएको छ । आर्थिक वर्ष ०६६/६७ मा ४१९ जनाको मृत्यु भएको छ । आर्थिक ०६८/६९ मा ६४९ जनाको मृत्यु भएको छ ।

यस्तै, आर्थिक वर्ष ०७१/७२ मा १ हजार ६ जनाको मृत्यु भएको छ । जसमा दैनिक तीनदेखि चार जनाले ज्यान गुमाएको प्रष्ट देखिन्छ । आव ०७२/७३ मा ८२३ जना, आव ०७३/७४ मा ७५६, आव ०७४/७५ मा ८२१, आव ०७५/७६ मा ७५३ र चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म २५७ जनाको मृत्यु भएको छ ।

यकिन छैन मृतकको तथ्यांक 

वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारीमा मृत्यु हुनेको संख्या यकिन नभएको बताउँछन् ।

‘मृत्यु हुनेको संख्या धेरै पनि हुन सक्छ,’ श्रेष्ठले भने, ‘हामीसँग शव ढुवानीका लागि सहयोग माग्न आउने, वैदेशिक रोजगारीमा रहेर मृत्यु भएपछि आर्थिक सहायता माग्न आउनेको निवेदनको आधारमा मात्र मृत्युको संख्या संकलन गर्ने गर्छौं ।’

वैदेशिक रोजगारीमा रहेर मृत्यु भएपछि आर्थिक सहायता लिन नआउने, शव ल्याएर वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा जानकारी नदिने, अवैधानिक बाटोबाट विदेश गएर मृत्यु भएको तथ्यांक बोर्डमा नहुने श्रेष्ठले प्रष्ट्याए ।

‘हामीले यहाँ आएका निवेदनको आधारमा र शव ढुवानीका लागि आर्थिक सहयोग माग्नेहरुबाट तथ्यांक संकलन गर्छौं,’ उनले भने, ‘श्रम स्वीकृति नलिई गएर मृत्यु भएको, काजगपत्र नमिलेको मृतक कामदारको तथ्यांक संकलन गर्दैनौं । त्यसैले मृतकको संख्या पनि धेरै हुन सक्छ ।’

यस कारण अकालमै मर्छन्

वैदेशिक रोजगारीमा जानेहरुको मृत्युको कारणमध्ये सडक दुर्घटनामा सबैभन्दा बढीको मृत्यु भएको छ । यस्तै, कार्यस्थलमै दुर्घटनामा परेर पनि मृत्यु भएको पाइएको छ । हृदयाघात, मस्तिष्क पक्षाघातका कारण पनि मृत्यु हुने गरेको छ ।

विज्ञहरुका अनुसार कामको प्रकृतिअनुसार सुरक्षा सतर्कता नअपनाउनु, खानपानमा ध्यान नदिनु, अत्यधिक मदिरापान गर्नु, वातावरणीय प्रतिकूलता, चेतनाको अभाव र सुरक्षा सतर्कता अपनाउन नसक्दा नेपाली कामदारको मृत्युदर बढेको छ ।

यस्तै, रोजगारदाताको बेवास्ता र झन्झटिलो कानुनी प्रक्रियाका कारण पनि कामदारहरुले ज्यान गुमाएका छन् ।

यस्तो छ क्षतिपूर्तिको अवस्था

वैदेशिक रोजगारीमा गएको समयावधिभित्र कामदारको मृत्यु भएमा परिवारलाई क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउने प्रावधान छ ।

वैदेशिक रोजगारीका क्रममा रोजगारीको करार अवधि नसकिइकनै बिदामा नेपाल आउँदा मृत्यु भएको अवस्थामा भने क्षतिपूर्ति रकम उपलब्ध नगरिएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । तर, क्षतिपूर्तिका लागि २०७२ सालदेखि नै निवेदन पर्ने गरेको जानकारी बोर्डले दिएको छ ।

सरकारले क्षतिपूर्ति बापटत बोर्डको स्थापनाकालदेखि २०६८ बैशाख २० गतेसम्म एक लाख, २०६८ बैशाखदेखि असोज ३१ गतेसम्म एकलाख ५० हजार, २०७१ असोज ३१ गतेदेखि २०७४ साउन १६ गतेसम्म ३ लाख र २०७४ साउनदेखि हालसम्म ७ लाख दिने व्यवस्था गरिएको छ ।

बोर्डको तथ्यांक अनुसार अहिलेसम्म दुई अर्ब १८ करोड ३३ लाख ६४ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गरिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV