हुम्लामा चिसो बढेसँगै सिमा क्षेत्रबाट प्रहरी चौकी सारियो « Nagarik Khabar

हुम्लामा चिसो बढेसँगै सिमा क्षेत्रबाट प्रहरी चौकी सारियो



हुम्ला । हुम्ला उच्च हिमाली जिल्ला भएकाले चिसो बढेसँगै सीमा क्षेत्रमा रहेका प्रहरीचौकी सार्न थालिएको छ । चिनको स्वसाशित क्षेत्र तिब्बतसगँ सिमा जोडिएको क्षेत्रबाट प्रहरी चौकी सार्न थालिएकाे हाे ।

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा रहेको प्रहरीचौकी सारिएको छ । चिसो माइनस एक डिग्रीमा पुगेसँगै उत्तरी क्षेत्रमा रहेको लिमी प्रहरीचौकीका इञ्चार्ज दीपेन्द्र पन्तको नेतृत्वमा रहेको ११ जनाको टोली जिल्ला प्रहरी कार्यालय सिमकोट सारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

कात्तिक महिनाको मध्येदेखि हुम्लामा चिसो बढेसँगै प्रहरी चौकी सारिएको प्रहरी नायब उपरीक्षक घर्तीमगरले जानकारी दिए । जिल्ला सदरमुकामभन्दा नाम्खा गाउँपालिका उपल्लो हुम्ला भएकाले चिसो अत्यधिक हुने गरेको छ । यतिबेला लिमीमा हिउँसमेत जमेकाले बिहान बेलुका बढी चिसो हुने गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

कर्णाली प्रदेशका अन्य जिल्ला मध्य हुम्लामा बढी हिमपात हुनुका साथै चिसो बढी हुने भएकाले उच्च क्षेत्रमा रहेका प्रहरीचौकी सारिने गरिन्छ । सीमा सुरक्षाका लागि राखिएको हिल्ला प्रहरीचौकी पनि चिसो बढेसँगै सदरमुकाम सिमकोटमा सारिने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक घर्तीमगरले बताए ।

नेपाल र चीनको मुख्य नाका हिल्सा भएकाले त्यस नाकाबाट अवैध व्यापार आयातनिर्यात हुने भएकाले सीमा क्षेत्रमा राखिएको प्रहरीचौकी आउँदो मङ्सिर १५ गतेसम्म सारिने तयारी भइरहेको उनले जानकारी दिए ।

जिल्ला उत्तरी नाम्खा गाउँपालिकाको माथिल्लो क्षेत्र लिमी, हिल्सामा अत्यधिक कठ्याङ्ग्रिने चिसो हुने भएकाले विभिन्न समस्याका कारण प्रहरी चिसोमा छ महिना सदरमुकाम सिमकोट र वैशाख महिनादेखि माथितिर जाने गरेको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रहरी नायब उपरीक्षक घर्तीमगरले जानकारी दिए ।

हिउँदको समयमा त्यस क्षेत्रमा राखिएका चौकीमा कार्यरत प्रहरीका लागि सेवा सुविधा नभएको र त्यस क्षेत्रमा हिउँदको समयमा चौकी राख्न निकै समस्या हुनाभएकाले जिल्लामा नै सारिने गरिएको उनले जानकारी दिए ।

उत्तरी नाम्खा गाउँपालिकाको लिमी, तिल, जाङ, हल्जी, यारी, हिल्सालगायतका क्षेत्रमा बाक्लो हिमपात हुने भएकाले यहाँका स्थानीय जिल्ला बाहिर काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायतका शहरमा बसाइँसराइ गर्ने गर्दछन् । रासस

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: