नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु, मन्त्रिपरिषद् पुनर्गठनमा छलफल « Nagarik Khabar

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु, मन्त्रिपरिषद् पुनर्गठनमा छलफल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकमा मन्त्रिपरिषद् पुनर्गठनमा पर्ने मन्त्रीको नाम, सभामुख चयन र प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका विषयमा छलफल हुने एक सचिवालय सदस्यले जानकारी दिए ।

सचिवालय बैठकअघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । त्यस लगत्तै दुवै अध्यक्ष राष्ट्रपति भेट्न शितल निवास पुगेका थिए ।

सचिवालय बैठकपछि आज नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी छ ।

प्रधानमन्त्रीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव फेर्ने प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री ओलीले सभामुखका लागि पूर्वसभामुख एवं नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङको नाम प्रस्ताव गरेका छन् ।

सिंगापुरमा उपचारका लागि जाने समयमा सहमति भएअनुसार पार्टीको जिम्मेवारी पूर्णरुपमा प्रचण्डलाई दिन ओली सकारात्मक भएका छन् ।

आजको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन, अध्यक्षको कार्यविभाजन, प्रधानमन्त्री ओलीको स्वास्थ्यलगायतका सबै विषयमा निर्णय गर्ने एक सचिवालय सदस्यले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: