वित्तीय प्रगति अपेक्षा अनुरुप भएन : एडिबी « Nagarik Khabar

वित्तीय प्रगति अपेक्षा अनुरुप भएन : एडिबी



काठमाडौं । एसियाली विकास बैंकले नेपालमा लगानी गरेका परियोजनाहरुको वित्तीय प्रगति अपेक्षा अनुरुप नभएको जनाएको छ ।

बैंकले बुधबार काठमाडौंमा आयोजना गरेको त्रिपक्षीय पोर्टफोलियो समिक्षामा एसियाली विकास बैंकका नेपाल प्रतिनिधिले नेपालका विभिन्न आयोजनामा गरेको लगानी समयमै खर्च हुन नसकेको गुनासो गरेका हुन् ।

समिक्षा बैठकमा एडिबीका नेपाल निर्देशक मुख्तोर खामुद्खानोभले नेपाल सरकारले रणनीतिक विकासका लागि लगानी आवश्यक ठानेमा एडिबी सहयोग गर्न तयार रहेको भन्दै समयमै खर्च गर्न तर्फ आवश्यक व्यवस्थापन मिलाउन सरकारलाई आग्रह गरे ।

सरकारले कतिपय परियोजनामा प्रयाप्त सहयोग नगर्दा वार्षिक ३५ करोड अमेरिकी डलर देखि ४० करोड अमेरिकी डलर सम्म लगानी गर्ने लक्ष्य पूरा हुन नसकेको उनले बताए ।

परियोजनाहरुमा लगानी बढाउन नेपाल सरकारले रणनीतिक रुपमा ध्यान दिनुपर्ने निर्देशक खामुद्खानोभले बताए ।

एडिबीले हालसम्म वार्षिक ३० करोड अमेरिकी डलरभन्दा बढी लगानी गर्न सकेको छैन । एसियाली विकास बैंकले सन् २०१९ को दश महिनामा २२ करोड ७३ लाख डलर बराबरको लगानी सम्झौता गरेको थियो ।

समीक्षा बैठकमा राजश्व सचिव शिशिर ढुंगानाले एडिबीले लगानी गरेका परियोजनाको गति र दक्षता विकासमा चुनौतीहरु रहेको र यस्तो समीक्षा बैठकले महत्वपूर्ण मुद्दाहरुलाई उजागर गर्ने बताए ।

सचिव ढुंगानाले परियोजना कार्यान्वयन गर्ने निकायहरु जुनसुकै परियोजना समयमै सम्पन्न गर्नका लागि संवेदनशील हुनुपर्नेमा जोड दिए । उनले लगानी अभिवृद्धिका लागि अर्थमन्त्रालय सधैं गम्भीर रहेको समेत बताए ।

एडिबीले हाल सम्म नेपालमा २ अर्ब ९६ करोड अमेरिकी डलर बराबरको लगानी गरेको छ । एडिबिको नेपालमा सञ्चालित ३१ परियोजनामा लगानी र २ परियोजनामा ऋण सहयोग रहेको छ ।

एडिबीले नेपालमा उर्जा, यातायात, शिक्षा, खानेपानी, शहरी विकास, कृषि लगायत क्षेत्रमा लगानी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: