‘संघीय सरकार ढुकुटीमा रम्यो, स्थानीय सरकारलाई बजेट दिन कञ्जुस्याइँ’ (भिडियोसहित) « Nagarik Khabar

‘संघीय सरकार ढुकुटीमा रम्यो, स्थानीय सरकारलाई बजेट दिन कञ्जुस्याइँ’ (भिडियोसहित)



उदयपुरको पश्चिम(उत्तरमा अवस्थित स्थानीय तह हो‚ लिम्चुङबुङ गाउँपालिका । पाँचवटा वडा रहेको यस गाउँपालिकाको क्षेत्रफल १०६।८ वर्ग किलोमिटर छ । जनसंख्या ११ हजार ९९२ रहेको छ ।

यस गाउँपालिकाको सुरुको नाम सुनकोशी थियो । स्थानीय सरकार बनेपछि नाम परिवर्तन गरी लिम्चुङबुङ राखिएको हो । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष हुन् मेजरकुमार राई ‘मिजास’  । उनी तत्कालीन नेकपा माओवादी केन्द्रबाट विजयी बनेका हुन् ।

उनै अध्यक्ष राईसँग स्थानीय सरकार सञ्चालनमा क्रममा भोगेको समस्या, आफूले नेतृत्व गरेको सरकारले गरेको काम कारबाहीबारे नागरिकखबरको स्तम्भ ‘के गर्दैछन् गाउँका सिंहदरबार’मा गरेको कुराकानी प्रस्तुत गरेका छौं ।

भिडियो

समृद्ध गाउँ बनाउने यस्तो योजना

स्थानीय सरकारको नेतृत्व सम्हालेदेखि नै गाउँपालिकाका सरोकारवाला निकायहरुसँग समन्वय गरी काम गरिरहेका छौं । लिम्चुङबुङ गाउँपालिकाको विकासका लागि स्थानीय सरकार, राजनीतिक दल, नेता, बुद्धिजीवी र नागरिक सबै एक भएका छौं । सबैमा आफ्नो क्षेत्रको विकास गर्नुपर्छ भन्ने इच्छाशक्ति छ । जसले जनप्रतिनिधिलाई काम गर्न हौसला दिएको छ ।

दिगो विकासको अवधारणमा आधारित भएर ‘समृद्ध लिम्चुङबुङ, सुखी लिम्चुङबुङ’ भन्ने नाराका साथ काम गर्दैछौं । सम्भावनाबारे अध्ययन भइरहेको छ । ‘समुन्द्रदेखि सगरमाथा’सम्म भन्ने योजनाअन्तर्गत एभरेस्ट भ्युटप टावर बनाउने योजना छ । त्यहाँ होटल, पार्क आदि निर्माण गरेर पर्यटकहरुलाई एकै स्थानबाट आठवटा हिमालको अवलोकन गर्न मिल्छ ।

पछिल्लो समय गाउँबाट शहर जाने वा एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने क्रम बढी छ । आफ्नो ठाउँ बनाउने भन्दा पनि बनाइसकेको ठाउँमा जाने क्रम छ । यस्तो कार्यलाई रोक्न ग्रामीण सहर निर्माण गर्न काम गरिहेका छौं ।

निर्वाचनअघि गाउँमा मोटरसाइकल जाने बाटो थिएन । अहिले ती ठाउँमा गाडी जाने सडक निर्माण भएको छ । यो वर्षबाट त्यस गाउँमा बिजुली बल्छ । अहिले विद्युतको पोल झार्ने काम जारी छ ।

खानेपानीका लागि लिफ्ट सिस्टमबाट कोशीको पानी तान्ने योजना छ । ८÷१० वर्षभित्र गाउँपालिकाको प्रत्येक घरमा खानेपानी पु¥याउने योजनाका साथ काम बढाइएको छ । कृषि र पर्यटनबाट गाउँपालिका र गाउँलेलाई धनी बनाउने योजना छ । निर्वाचनअघि सामाजिक सञ्जालमा एउटा फोटो अपलोड गर्न पनि समस्या थियो । अहिले गाउँपालिकाको हरेक माध्यमिक विद्यालयहरुमा इन्टरनेट पु¥याएका छौं । प्रविधिमैत्री शिक्षामा जोड दिएका छौं ।

विभेदमा पहाडी र ग्रामीण क्षेत्र

हामीले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गराएर मात्र सडक निर्माण गरिरहेका छौं । विकास निर्माणका काममा नागरिकको सहभागितालाई प्रथामिकता दिएका छौं । गाउँपालिकामा निर्माण भएका सडकहरु प्राविधिक रुपमा राम्रा छन् । नागरिकहरु पनि खुसी छन् । भविष्यमा आइपर्ने प्राकृतिक विपत्तिप्रति पनि सचेत बन्ने प्रयास गरेका छौं ।

केन्द्र सरकार जनसंख्याको आधारमा विकास गर्ने भन्दै पहाडमा लगानी गर्न कञ्जुस्याइँ गर्छ । मुलुकको ढुकुटी प्रयोग गरी विदेश घुम्न जान्छन् । तर, मुलुकको पूर्वाधार निर्माणमा कन्जुसाइँ गर्छन् । मुलुक सञ्चालकको यही सोंच नै समस्याको रुपमा रहेको छ ।

यता स्थानीय सरकारलाई नागरिकको दबाब छ । सरकारप्रति नागरिकको आकांक्षा चुलिँदो छ । नागरिक विकास निर्माण छिटो होस् भन्ने चाहन्छन् । तर नागरिकको चाहनाअनुसार काम गर्ने बजेट अभाव छ ।

यस्तो अवस्था भए पनि लिम्चुङबुङवासीले हामीलाई आत्मबल बढाइदिएका छन् । यहाँका नागरिकमा ‘हामी इतिहास जित्नलाई जन्मेका हौं । क्षमतावान हौं ।’ भन्ने आत्मविश्वास जोगाउन सकेका छौं । मानसिक रुपमा बलियो बनाउन सकेका छौं । नागरिकमा सरकारलाई साथ दिनुपर्छ, गाउँको विकास आफैंले गर्नुपर्छ भन्ने भावना विकास गरेका छौं । लिम्चुङवासीमा सरकारले हाम्रो लागि काम गरिरहेको छ भन्ने सोचको विकास भएको छ ।

हामीले चुनावताका नागरिक सामु गरेका प्रतिवद्धतालाई पूरा गर्दैछौं । गाईघाट–हलेसी सडक बनाउँछौं भनेका थियौं । उक्त योजना राष्ट्रिय योजनामा परेको छ । सुनकोशीमा पुल निर्माण गरी हलेसी–गाईघाट जोड्ने भनेका थियौं । पुल निर्माणका लागि टेन्डरमा जाँदै छ । कृषिमा युवाहरुको सहभागितालाई विशेष जोड दिएका छौं । जसले उत्पादनमा वृद्धि र युवा बेरोजगार समस्या पनि समधान गर्न सहयोग गर्नेछ । थोरै पैसामा अनलाइन शिक्षा सुरु गरेका छौं । गाउँमा पढ्ने वालबालिकालाई पनि प्रविधिमैत्री बनाउने अभियानमा छौं ।

केन्द्रीय सरकारको समृद्ध नेपाल, सुखी नेपाली नारा व्यवहारमा उतार्न स्थानीय सरकार बलियो हुनै पर्दछ । यद्यपि, स्थानीय सरकारको अधिकारलाई खुम्चाउने काम भइरहेको छ । त्यसैले स्थानीय तहलाई यसरी नै राख्ने हो भने देश समृद्ध बन्न अझै धेरै समय लाग्छ । त्यसैले केन्द्रीय सरकारको दृष्टिकोण परिवर्तन हुन जरुरी छ ।

भौगोलिक रुपमा धेरै पछि परेको गाउँपालिकाको सरकारका लागि विकास भनेको खेतमा पानी लगाउनुजस्तै भएको छ । मुहान फर्काउन गयो, पानी आइपुग्न लाग्दा बाँध भत्किन्छ । फेरि मुहान फर्काएर ल्यायो । हाम्रो काम पनि यस्तै भएको छ । यो साढे दुई वर्षमा तीनै तहका सरकार, कर्मचारी, बुद्धिजीवीलगायतका समूहसँग सम्बन्ध बनाउनमा नै व्यतित भयो । त्यसैले नागरिकका लागि जति समय दिनुपर्ने त्यति दिन सकेनौं जस्तो लागेको छ । यद्यपि, यो अवधिमा जति काम गरेका छौं, त्यो उत्कृष्ट जस्तो लाग्छ ।

देशमै छ सम्भावना

धेरै युवाहरुले आफ्नो क्षमताको पहिचान गर्न सकेका छैनन् । उनीहरु भौतारिरहेका देख्न सक्छौं । वैदेशिक राजगारीमा जानेको युवाहरुको जमात ठूलो छ ।

मलाई लाग्छ, युवाहरु भौतारिरहनु पर्दैन । विदेश जानु पर्दैन । क्षमताअनुसार देशभित्रै काम गर्नु पर्दछ । एक दिन सफल भइन्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: