यस्तो छ कुपोषणको डरलाग्दो तथ्यांक « Nagarik Khabar

यस्तो छ कुपोषणको डरलाग्दो तथ्यांक



काठमाडौं । हरेक वर्ष नोभेम्बर २० मा अन्तराष्ट्रिय बाल दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९५४ देखि बालबालिकाको पक्षमा अन्तराष्ट्रिय एकता, सचेतना तथा हितको पक्षमा वकालत गर्दै यो दिवस मनाउने गरिन्छ ।

सन् १९५९ को नोभेम्बर २० कै दिन संयुक्त राष्ट्रसंघको महाशभाले बालअधिकार सम्बन्धी घोषणा पत्र स्वीकार गरेको थियो ।

बालबालिकाको सर्वाङगिण विकास र उनीहरुको अधिकार सुनिश्चताका लागि घोषणा पत्र जारी भएको साढे ६ दशक पूरा भए पनि विश्वका विभिन्न मुलुकका बालबालिका स्वास्थ्व (पोषिलो )आहारबाट नै बञ्चित छन् ।

नेपालसँगै विश्वभरका बालबालिका कमसल खानाका कारण बालबालिकाको पोषणस्थिति गम्भीर रहेको तथ्यांकले देखाउँछ । युनिसेफले सार्वजनिक गरेको विश्वका बालबालिकाको अवस्था २०१९ : बालबालिका, खाना र पोषण (द स्टेट अफ द वल्र्डज चिल्ड्रेन २०१९ः चिल्ड्रेन, फुड एण्ड न्युट्रेसन) नामक अध्ययन प्रतिवेदन अनुसार विश्वका करोडौं बालबालिका कमसल खानाबाट प्रभावित भएको उल्लेख छ । पाँच वर्षमुनिका तीनमध्ये कम्तीमा एक बालबालिका – वा २० करोडभन्दा धेरै बालबालिका कम पोषण वा अधिक पोषणको शिकार हुने गरेका छन् ।

नेपालका पाँच वर्ष मुनिका ४३ प्रतिशत बालबालिका पुड्का, ख्याउटे वा मोटा, ६ महिनादेखि दुई वर्षसम्मका करिब ४५ प्रतिशत बालबालिकाले अन्न र गेडागुडी मात्र खाने गरेको र अण्डा, माछा, मासु खानेको संख्या एक तिहाइ मात्र रहेको अनुसन्धानले देखाएको छ । यो प्रतिवेदनले गलत खाना अर्थात खाना छनोटको चेतना नहुँदा नेपालमा ११ लाख बालबालिका पुड्का अर्थात् होचा, करिब २ लाख ९० हजार बालबालिका ख्याउटे अर्थात् दुब्ला, १३ लाख बालबालिका – अर्थात् दुईमध्ये एक जनामा— भिटामिन ए र आइरनजस्ता आवश्यक पोषकतत्वको कमी भएको प्रतिवेदनले देखाएको छ । त्यस्तै करिब ३६ हजार बालबालिका बढी तौलका वा मोटा रहेको तथ्यांकले देखाउँछ ।

प्रतिवेदनले बालबालिकाको जीवनको शुरुवाती दिनबाट नै कमसल खानाको अभ्यासप्रति चेतावनी दिएको छ । स्तनपानले जीवन जोगाउन सक्ने भए पनि, नेपालका ६६ प्रतिशत बालबालिकालाई मात्र पूर्ण स्तनपान गराइन्छ भने नवजात शिशुहरुलाई फर्मुला खुवाउने चलन बढ्दै गइरहेको छ ।

६ महिना पुगेपछि बालबालिकालाई नरम वा ठोस खानेकुरा खुवाउन शुरु गरिन्छ तर, धेरै बालबालिकालाई शुरुमै गलत खानेकुरा खुवाउन शुरु गरिने गरेको पाइएको छ ।

नेपालका ३८ प्रतिशत बालबालिकाले ६ महिनादेखि दुई वर्षको अवधिमा कुनै फलफूल वा तरकारी खान नपाउने, दुई तिहाइ बालबालिकाले अण्डा, माछा वा मासु खाना नपाउने देखाएको छ । अनुपयुक्त बजारीकरण र विज्ञापनले शहरसँगै ग्रामीण क्षेत्रमा तयारी खानेकुरा र अत्याधिक गुलियो पेयपदार्थजस्ता प्रशोधित खानेकुराको खपत बढिरहेको प्रति सजग गराइएको छ ।

६ महिनादेखि दुई वर्ष उमेरका तीनमध्ये झण्डै दुई बालबालिकालाई उनीहरुको शरीर र मस्तिष्कको विकासका लागि चाहिने खाना खुवाइएको छैन जसले उनीहरुको मस्तिष्क विकास, सिकाइ, प्रतिरक्षा प्रणालीमा नकारात्मक प्रभाव पार्ने, संक्रमण बढ्ने र कतिपय अवस्थामा मृत्यु समेत हुने जोखिम रहन्छ ।

सबैखाले कुपोषणको ठूलो मारमा गरिब र सिमान्तकृत समुदायका बालबालिका र किशोरकिशोरी पर्ने गरेका छन् । सबैभन्दा गरिब परिवारका ५ मध्ये १ ले मात्र स्वस्थ विकासका लागि चाहिने खानेकुरा पर्याप्त मात्रामा खान पाउँछन् । प्रतिवेदनले जलवायुसम्वन्धी विपद्हरुले गम्भीर खाद्य संकट सिर्जना गर्नेतर्फ पनि ध्यानाकर्षण गराएको छ ।

नेपालमा, बालबालिका र किशोरकिशोरी (५ देखि १९ वर्ष) मा हुने मोटोपना पछिल्लो चार दशकमा २९ गुणाले बढेको छ । आज, नेपालका यो उमेर समूहका १३ मध्ये १ जनामा मोटोपना छ । बढी तौल र मोटोपना आर्थिक अवस्था र घरको खाद्य सुरक्षासँगै बढ्ने गर्दछ । यसका अर्थ, आर्थिक रुपले सम्पन्न र शहरका परिवारहरुमा मोटोपना हुने सम्भावना धेरै रहन्छ ।

संसारभर नै बालबालिका र किशोरकिशोरीेमा बढी तौल र मोटोपनाको मात्रा बढिरहेको छ । सन् २००० देखि २०१६ सम्मको अवधिमा, ५ देखि १९ वर्ष उमेरका बालबालिका र किशोरकिशोरीमा यो अनुपात दोब्बर बढेको छ । अहिले यो उमेरका ५ मध्ये १ बालबालिका र किशोरीकिशोरीमा मोटोपना देखिएको छ । सन् १९७५ को तुलनामा, यो उमेर समूहका बालिकाहरु १० गुणा र बालकहरु १२ गुणा मोटोपनाबाट प्रभावित हुने गरेका छन् ।

अस्वस्थ खानाको मूल कारणलाई सम्बोधन गर्नका लागि सरकारहरु, निजी क्षेत्र र नागरिक समुदायले बाल पोषणलाई प्राथमिकतामा राखेर सहकार्य गर्न जरुरीतर्फ युनिसेफले ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: