छात्रालाई प्याड वितरण गर्न कार्यविधि नै छैन « Nagarik Khabar

छात्रालाई प्याड वितरण गर्न कार्यविधि नै छैन



काठमाडौं । सेनेटरी प्याड व्यवस्थापनसम्बन्धी कार्यविधि स्वीकृत हुन नसक्दा विद्यालयमा अध्ययनरत छात्राका लागि महिनावारी प्याड वितरण हुन सकेको छैन ।

देशभरिका सामुदायिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका छात्रालाई सरकारले मङ्सिर १ बाट निःशुल्क रूपमा प्याड उपलब्ध गराउने योजना बनाएको थियो । आजको गोरखापत्र दैनिकले यो समाचार प्रकाशित गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव कमलप्रसाद पोखरेलले सो कार्यविधि मन्त्रिपरिषद्को सामाजिक समितिमा छलफलका लागि पुगेको जानकारी दिँदै भने, ‘यो योजना पहिलो प्राथमिकतामा परेकाले आगामी साता बस्ने सामाजिक समितिले कार्य्विधिलाई स्वीकृत गर्ने छ भन्नेमा विश्वस्त छौँ । स्वीकृत भएलगत्तै वितरण प्रक्रिया अगाडि बढ्ने छन् ।’

कार्यविधि स्वीकृत भएपछि आवश्यक रकम स्थानीय तहलाई उपलब्ध गराउने र स्थानीय तहले प्याड खरिद गरी विद्यालयमा पठाउने कार्यमा समय लाग्नसक्ने भएकाले यसै महिनाबाट छात्राको पहुँचमा निःशुल्क प्याड पुग्न सक्ने अवस्था भने देखिँदैन ।

प्रायः कक्षा ६ अध्ययन गर्ने उमेरका छात्राको महिनावारी सुरु हुने हुँदा सो कक्षादेखि कक्षा १२ सम्म निःशुल्क प्याड उपलब्ध गराउने योजना बनाइएको हो । सो तहका करिब १४ लाख ३७ हजार छात्रा सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: