साग भलिबलको खेलतालिका सार्वजनिक, नेपाल कठिन समूहमा « Nagarik Khabar

साग भलिबलको खेलतालिका सार्वजनिक, नेपाल कठिन समूहमा



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को महिला तथा पुरुष भलिबलको खेल तालिका सार्वजनिक भएको छ ।

प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

महिलातर्फ नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा भारत र बंगलादेश छन् । समूह ‘बी’मा माल्दिभ्स, श्रीलंका र पाकिस्तान छन् । ६ टोली सहभागी प्रतियोगिताका खेल लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ ।

नेपालले नोभेम्बर २७ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै भारतसँग नोभेम्बर २२ मा खेल्नेछ । सागमा भलिबल उद्घाटन अगावै सुरु हुनेछ ।

केही समयअघि मात्र सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाल उच्च मनोबलका साथ सागमा सहभागी हुँदैछ । दुई वटै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

अरुणा शाहीको कप्तानीमा रहेको नेपाली टोलीमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सोफिया पुन, उषा विष्ट, कमला पुन, सलिना श्रेष्ठ, उषा भण्डारी र हीरा केसी छन् ।

यसैगरी पुरुषतर्फको खेलतालिका पनि बुधबार नै सार्वजनिक गरिएको छ । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा नेपाल कठिन समूहमा परेको छ । नेपालको समूहमा भारत र बंगलादेश छन् । यसैगरी समूह बीमा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन् ।

पुरुष टोलीले पनि नोभेम्बर २७ मै बंगलादेशसँग पहिलो खेल खेल्नेछ । इम रानाको कप्तानीमा नेपालले १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिसकेको छ ।

यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: